बुटवल । भारतबाट नेपाल आयल निगमको भलवारी डिपोका लागि ल्याइएको पेट्रोलियम पदार्थ चोरी गर्ने प्रयास भएको आशंकामा प्रहरीले दुई वटा ट्याङ्कर नियन्त्रणमा लिएको छ। घटनासँगै पेट्रोलियम पदार्थ ढुवानी र डिपोको अनुगमन प्रणालीमाथि पनि प्रश्न उठेको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङबाट खटिएको विशेष टोलीले मंगलबार बिहान भैरहवास्थित सराफ आयल सेन्टरमा छापा मार्दा दुई ट्याङ्करबाट पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारेको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार भारतबाट भलवारी डिपोका लागि इन्धन बोकेर आएका लु २ ख १५४४ र लु १ ख ६५०४ नम्बरका ट्याङ्कर सराफ आयल सेन्टरमा पुगेका थिए। बिहान करिब १० बजे गरिएको अनुगमनका क्रममा दुवै ट्याङ्करको सिल तोडिएको तथा इन्धन निकालिएको अवस्था भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीले दुवै ट्याङ्कर र एक जना सहचालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ। घटनामा अन्य व्यक्तिको संलग्नता रहे–नरहेको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
यस घटनापछि भलवारी डिपोको अनुगमन र इन्धन ढुवानी व्यवस्थामाथि पुनः प्रश्न उठेको छ। स्रोतहरूका अनुसार डिपोका लागि भारतबाट इन्धन ल्याउने केही ट्याङ्कर व्यवसायी र पेट्रोल पम्प सञ्चालकबीचको मिलेमतोमा लामो समयदेखि इन्धन चोरी हुने गरेको आरोप रहँदै आएको छ।
स्रोतका अनुसार डिपोमा ट्याङ्करको सिलको नियमित परीक्षण तथा आयातित पेट्रोलियम पदार्थको प्रभावकारी नापजाँच नहुँदा यस्ता गतिविधिलाई प्रोत्साहन मिल्ने गरेको दाबी गरिएको छ।
यसअघि पनि भलवारी डिपोका लागि ल्याइने इन्धन ढुवानीका क्रममा चोरीका घटना सार्वजनिक भएका थिए। पछिल्लो घटनाले पेट्रोलियम पदार्थ ढुवानीको सुरक्षा, सिल परीक्षण र डिपोको निरीक्षण प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएको छ।