वीरगंज । छठ पर्वको अवसरमा लायन्स क्लब अफ वीरगंज सेन्ट्रलले वीरगंज कारागारमा रहेका २० जना महिला बन्दीलाई छठ पूजा सामग्री वितरण गरेको छ।
क्लबले कारागार परिसरमा कार्यक्रम आयोजना गरी महिला बन्दीहरूलाई साडी, नरिवल, सूपलीलगायत छठ पूजाका आवश्यक सामग्री वितरण गरेको हो।
कार्यक्रमकी प्रमुख अतिथि लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ ‘एस’ की डिष्ट्रिक्ट एक्जिक्युटिभ को–चिफ लायन मिरा खेतानले कारागारमा रहेका महिला बन्दीहरूलाई गरिएको सहयोगले उनीहरूलाई छठ पर्व मनाउन सहज हुने विश्वास व्यक्त गरिन्। सानो सहयोगले पनि कसैको जीवनमा खुसी र आत्मीयताको अनुभूति गराउन सक्ने उनको भनाइ थियो।
त्यसैगरी, विशिष्ट अतिथि लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ ‘एस’ की डिष्ट्रिक्ट डेपुटी चिफ लायन मिनाक्षी कर्माचार्य गुप्ताले लायन्स क्लब जाति, धर्म, वर्ग तथा राजनीतिक भेदभावभन्दा माथि उठेर मानव सेवामा समर्पित अन्तर्राष्ट्रिय सामाजिक संस्था भएको बताइन्। उनले सबैलाई श्रद्धा, भक्ति र आपसी सद्भावका साथ छठ पर्व मनाउन आग्रहसमेत गरिन्।
कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य तथा वीरगंज कारागारका कर्मचारीहरूको सहभागिता रहेको थियो।