वीरगञ्ज । छठ पर्वको अवसरमा सरकारले कात्तिक २९ गते आइतबारका साथै पर्वको भोलिपल्ट कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले सार्वजनिक बिदासम्बन्धी सूचना जारी गर्दै छठ पर्वको अवसरमा थप एक दिन बिदा दिने निर्णय गरिएको जनाएको हो।
छठ पर्वको पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गर्ने परम्परा रहेकाले पर्वको भोलिपल्ट पनि सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा हस्ताक्षरित सूचनामा सम्बन्धित सबैको जानकारीका लागि उक्त निर्णय सार्वजनिक गरिएको उल्लेख छ।