गौर । रौतहट जिल्लाको सदरमुकाम गौरस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको बरहवा ताल परिसरमा नवनिर्मित सूर्य मन्दिर तथा बराह मन्दिरको बिहीबार एक समारोहबीच विधिवत् उद्घाटन गरिएको छ।
गौर नगरपालिकाका पूर्व नगरप्रमुख अजयकुमार गुप्ता र उहाँकी धर्मपत्नीले धार्मिक विधि तथा परम्पराअनुसार पूजाअर्चना गरी दुवै मन्दिरको उद्घाटन गर्नुभएको हो।सूर्य उपासनाको विशेष पर्व छठसँग प्रत्यक्ष सम्बन्ध राख्ने सूर्य मन्दिरले श्रद्धालु भक्तजनलाई पूजाआराधना गर्न थप सहज वातावरण प्रदान गर्ने अपेक्षा गरिएको छ। त्यस्तै, भगवान् विष्णुको वराह अवतारसँग सम्बन्धित बराह मन्दिरले धार्मिक तथा पौराणिक महत्त्वलाई थप स्थापित गर्ने विश्वास गरिएको छ।
गौरको पहिचानसँग जोडिएको बरहवा ताललाई धार्मिक आस्थाको केन्द्रका रूपमा विकास गर्दै व्यवस्थित पर्यटकीय गन्तव्य बनाउन यस्ता धार्मिक संरचनाले सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
मन्दिर उद्घाटनसँगै बरहवा तालको संरक्षण, सौन्दर्यीकरण र धार्मिक पर्यटन प्रवर्द्धनमा समेत थप ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।