वीरगंज। पर्साको पश्चिमी ग्रामीण क्षेत्रमा पर्ने धोबियाटोला सबैठवा सीमा नाका पछिल्लो समय संगठित तस्करीको सुरक्षित मार्ग बन्दै गएको गम्भीर आरोप सार्वजनिक भएको छ। सीमा क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रण गर्ने जिम्मेवारी पाएका प्रहरी निकायकै केही कर्मचारीमाथि तस्कर समूहसँग आर्थिक लेनदेन गरी तस्करीको लाइन सञ्चालन गर्न सघाएको आरोप लागेपछि सुरक्षा संयन्त्रमाथि नै प्रश्न उठेको छ।
विशेषगरी इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक भानुभक्त अर्यालको कार्यक्षेत्रमा पर्ने धोबियाटोला–सबैठवा नाकाबाट रातिको समयमा संगठित रूपमा कपडा, जुताचप्पल तथा कस्मेटिक सामग्रीको तस्करी भइरहेको स्रोतको दाबी छ। सीमावर्ती भारतीय बजार सिक्टाबाट कठियामठिया हुँदै धोबियाटोला–सबैठवा नाका भएर बड्का गाउँ सबैठवा हुँदै पोखरिया बजारसम्म भन्सार छलीका सामान पुर्याइने गरेको आरोप छ।
स्थानीय स्रोतका अनुसार सबैठवा नाकालाई प्रयोग गरी रातिको समयमा तीनवटा मोटरसाइकलमार्फत नियमित रूपमा सामान ओसारपसार हुने गरेको छ। पकहाँ मैनपुर गाउँपालिका–५ सबैठवाका बृजेश साह तेली, सन्दीप गोड र विकास गुप्ताको समूहले कपडा, जुताचप्पल तथा कस्मेटिक सामग्रीको तस्करी गर्दै आएको आरोप छ। उक्त समूहमा बृजेश साह तेली मुख्य योजनाकारका रूपमा रहेको र प्रहरीसँग समन्वय तथा तस्करीको लाइन व्यवस्थापन गर्ने जिम्मेवारी उनैले सम्हाल्ने गरेको स्रोतको दाबी छ।
यस प्रकरणमा इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक भानुभक्त अर्यालले सूचना संकलनका नाममा परिचालन गरेका घुमुवा प्रहरी कर्मचारी कृष्णा प्रसाद यादवको भूमिकामाथि समेत प्रश्न उठेको छ। स्रोतका अनुसार यादव विगत करिब ११ महिनादेखि पोखरिया क्षेत्रमा कार्यरत छन्। तस्कर समूहसँग आर्थिक लेनदेन गर्ने, रकम संकलन गराउने र सामान ओसारपसारका लागि अनुकूल वातावरण बनाउने काम उनकै माध्यमबाट हुने गरेको आरोप छ।
स्रोतको दाबीअनुसार घुमुवा यादवले आफू प्रत्यक्ष रूपमा कम देखिने गरी तस्कर समूहकै व्यक्तिमार्फत रकम संकलन गराउने र पछि पोखरिया बोलाएर बुझ्ने गरेको बताइएको छ। केही साताअघि उनीमाथि लागेको आरोपसम्बन्धी समाचार सार्वजनिक भएपछि घरबिदा लिएर एक साता कार्यालयबाट बाहिरिएको र सोही अवधिमा उनले लाइन दिएको भनिएको समूहको सामान प्रहरी टोलीले नियन्त्रणमा लिएपछि विवाद उत्पन्न भएको स्रोतको भनाइ छ। त्यसपछि रकम फिर्ता गर्ने वा सामान छुटाउने विषयमा दबाब सिर्जना भएको र पुनः कार्यालय फर्किएपछि व्यवस्थापन गरिएको दाबीसमेत गरिएको छ। यद्यपि यी आरोपहरूको स्वतन्त्र पुष्टि हुन बाँकी छ।
यस प्रकरणको सबैभन्दा गम्भीर पक्ष भने धोबियाटोला–सबैठवा नाकाबाट भित्रिएको भनिएका भन्सार छलीका सामान पोखरिया बजारसम्म पुग्नु र खुलेआम बिक्री हुनु हो। सीमाबाट सामान भित्रिएर प्रहरी प्रशासनको प्रत्यक्ष निगरानी क्षेत्र हुँदै इलाका प्रहरी कार्यालय पोखरियाबाट करिब पाँच सय मिटर आसपासको बजारमा पुग्दा पनि नियन्त्रण तथा अनुगमन प्रभावकारी हुन नसकेको भन्दै स्थानीयले प्रश्न उठाएका छन्।
स्थानीय स्रोतको दाबीअनुसार पोखरिया बजारका केही कपडा, जुताचप्पल तथा कस्मेटिक पसलमा भन्सार प्रक्रिया पूरा नगरी ल्याइएका सामान बिक्री तथा भण्डारण हुने गरेको छ। बजारमा बिक्री भइरहेका सामानको स्रोत, खरिद बिल, भन्सार प्रज्ञापनपत्र तथा राजस्व भुक्तानीको विवरण जाँच गर्ने हो भने तस्करीको सञ्जालबारे थप तथ्य बाहिर आउन सक्ने स्थानीयको भनाइ छ। तर प्रहरी कार्यालयकै नजिक रहेको बजारमा यस्तो कारोबार भइरहेको आरोप उठिरहँदा सम्बन्धित निकायको निगरानी प्रभावकारी नदेखिनुले प्रहरी प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न खडा गरेको छ।
भन्सार छली गरेर ल्याइएका सामान पसल तथा गोदाममा भण्डारण गरी बिक्री भइरहेको आशंका भएमा सम्बन्धित निकायले तत्काल कानुनी प्रक्रिया अघि बढाउनुपर्ने देखिन्छ। राजस्व अनुसन्धान, भन्सार कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीबाट पोखरिया बजारका शंकास्पद पसल तथा गोदाममा अनुगमन र आवश्यकताअनुसार कानुनबमोजिम छापा मार्नुपर्ने माग उठेको छ। त्यस्ता प्रतिष्ठानमा उपलब्ध खरिद–बिक्री बिल, भन्सार कागजात, मौज्दात विवरण तथा सामानको स्रोत परीक्षण गरी भन्सार छली पुष्टि भए प्रचलित कानुनअनुसार सामान बरामद, राजस्व तथा जरिवाना असुली र संलग्नमाथि कारबाही गर्नुपर्ने हुन्छ।
भन्सार छलीका सामान सीमाबाट बजारसम्म कसरी पुग्छन् ? कसले ढुवानी गर्छ ? कसको गोदाममा भण्डारण हुन्छ ? कुन व्यवसायिक प्रतिष्ठानमार्फत बिक्री हुन्छ ? र यति नजिकै प्रहरी कार्यालय हुँदा पनि निगरानी किन प्रभावकारी हुन सकेन ? यी प्रश्नको जवाफ सम्बन्धित निकायले दिनुपर्ने अवस्था छ। सीमामा सामान समात्ने तर बजारमा पुगिसकेपछि बिक्री भइरहेको भनिएका पसल तथा गोदामसम्म अनुसन्धान नपुग्ने हो भने तस्करी नियन्त्रणको अभियानमाथि नै प्रश्न उठ्नेछ।
यसैबीच, सबैठवा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका केही कर्मचारीको मिलेमतोमा तस्करीको लाइन सञ्चालन भइरहेको आरोपसमेत सार्वजनिक भएको छ। इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक भानुभक्त अर्याल, घुमुवा प्रहरी कृष्णा प्रसाद यादव, प्रहरी चौकी सबैठवाका इन्चार्ज प्रहरी सहायक निरीक्षक पैगम्बर अंसारी तथा इलाका प्रहरी कार्यालय कालिकामाईका इन्चार्ज प्रहरी सहायक निरीक्षक नयन सिंह कार्कीको भूमिकामाथि स्रोतले प्रश्न उठाएको छ। उनीहरूको मिलेमतोमा तस्करी सहज बनाइएको आरोप छ।
त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म लहावरथकरीका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप बस्नेत तथा सुरक्षा बेस पोखरियाको निगरानी र कमान्ड प्रणालीलाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने आवाज उठेको छ। सीमा सुरक्षाका लागि प्रहरी परिचालन हुँदाहुँदै धोबियाटोला–सबैठवा नाकाबाट तस्करी भइरहेको भनिएको घटनाले सीमा सुरक्षा व्यवस्थापनको प्रभावकारितामाथि प्रश्न उठाएको छ।
तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गाउँले बताइने प्रहरी निरीक्षक अर्यालमाथि समेत घुमुवा परिचालन गरी तस्करीलाई संरक्षण दिएको आरोप लागेको छ। यद्यपि व्यक्तिगत सम्बन्ध वा चिनजानका आधारमा कुनै निष्कर्ष निकाल्नुभन्दा आरोपित कर्मचारीहरूको वास्तविक भूमिका, परिचालन विवरण र आर्थिक कारोबारको निष्पक्ष अनुसन्धान आवश्यक छ।
सीमा नाकाबाट भन्सार छलीका सामान भित्रिएर प्रहरी कार्यालयकै आसपासको पोखरिया बजारसम्म पुग्नु र त्यहाँका पसल तथा गोदाममा भण्डारण गरी बिक्री हुने गरेको आरोप सार्वजनिक हुनु सामान्य विषय होइन। यसले केवल सीमा सुरक्षामाथि मात्र होइन, राजस्व संकलन र बजार अनुगमनको जिम्मेवारी पाएका निकायको कार्यक्षमतामाथि समेत गम्भीर प्रश्न उठाएको छ।
त्यसैले जिल्ला प्रहरी कार्यालय पर्सा, सशस्त्र प्रहरी बलका सम्बन्धित उच्च अधिकारी, वीरगंज भन्सार कार्यालय तथा राजस्व अनुसन्धान कार्यालयले आरोपलाई गम्भीरतापूर्वक लिएर निष्पक्ष छानबिन गर्नुपर्ने देखिन्छ। धोबियाटोला–सबैठवा नाकाबाट हुने भनिएको तस्करीको मार्ग, रकम संकलनको सञ्जाल, ढुवानीमा प्रयोग हुने सवारीसाधन, पोखरिया बजारका शंकास्पद पसल तथा गोदाम र सम्बन्धित प्रहरी कर्मचारीको भूमिकाबारे छुट्टाछुट्टै अनुसन्धान हुनुपर्छ।
आरोपित प्रहरी कर्मचारी तथा व्यवसायीहरूको बैंक कारोबार, सम्पत्ति विवरण, अस्वाभाविक आर्थिक गतिविधि, ड्युटी तथा परिचालन अभिलेख र बरामद भएका सामानको विवरणसमेत आवश्यकताअनुसार कानुनी प्रक्रियाबाट परीक्षण गरिनुपर्छ। आरोप पुष्टि भए संलग्न जोसुकै भए पनि प्रचलित कानुनअनुसार कारबाही हुनुपर्छ।
धोबियाटोला–सबैठवा नाकाबाट भित्रिएको भनिएको भन्सार छलीको सामान पोखरिया प्रहरी कार्यालयकै नाकमुनि पुगेर बिक्री भइरहँदा प्रहरीको नजर किन पुग्दैन ? सीमामा तस्करी रोक्ने जिम्मेवारी पाएको संयन्त्र बजारसम्म पुग्ने सामानबारे किन मौन छ ? अब यी प्रश्नको जवाफ आश्वासनले होइन, निष्पक्ष छानबिन, बजार तथा गोदाममा कानुनबमोजिमको अनुगमन र दोषीमाथिको कारबाहीबाट दिनुपर्ने देखिन्छ।