वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित सोल्टी वेस्टेन्ड रिसोर्टभित्र सञ्चालित गोल्डेन फिंगर गेमिङ जोन (क्यासिनो)बाट पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव, इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेलसहित आठ जना धरौटी बुझाएर सोमबार रिहा भएका छन् ।
प्रहरीका अनुसार गाउँपालिका अध्यक्ष यादवले २५ हजार रुपैयाँ धरौटी बुझाएका छन् भने प्रहरी निरीक्षक पौडेल १८ हजार रुपैयाँ धरौटीमा छुटेका हुन्। यसैगरी चन्दन सहनी, ओमप्रकाश बैठा र क्यासिनो कर्मचारी जयदेव साहले जनही १५ हजार रुपैयाँ तथा विजयकुमार पटेल, दिनेशकुमार पटेल र प्रदेशी साहले जनही २० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साले भदौ २० गते राति विशेष सूचनाको आधारमा उक्त क्यासिनोमा छापा मारेको थियो। छापाका क्रममा नेपाली नागरिकलाई गैरकानुनी रूपमा क्यासिनोमा प्रवेश गराई जुवा खेलाइरहेको आरोपमा अध्यक्ष यादवसहित आठ जनालाई नियन्त्रणमा लिइएको थियो।
कारबाहीका क्रममा प्रहरीले क्यासिनो परिसरबाट सखुवा प्रसौनी गाउँपालिकाको नाममा दर्ता रहेको सरकारी सवारीसाधनसमेत नियन्त्रणमा लिएको थियो ।
नेपालको विद्यमान कानुनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न वा खेलाउन अनुमति छैन। यही कानुनी व्यवस्थाको उल्लंघन भएको आशंकामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको थियो ।
धरौटीमा रिहा भए पनि घटनासम्बन्धी मुद्दाको अनुसन्धान र कानुनी प्रक्रिया भने निरन्तर अघि बढ्ने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।