सर्लाही । सर्लाहीको बागमती नगरपालिकामा चट्याङ लाग्दा एक बालिकाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
मंगलबार साँझ बागमती नगरपालिका–४ स्थित गोले टोलमा परेको चट्याङ लागेर स्थानीय ठाकुरसिंह मोक्तानकी १२ वर्षीया छोरी दीना मोक्तानको मृत्यु भएको प्रहरीले जनाएको छ। चट्याङ लागेर गम्भीर घाइते भएकी दीनालाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा पुर्याइए पनि उपचारकै क्रममा उनको ज्यान गएको हो।
उक्त घटनामा हस्तबहादुर बम्जनकी ११ वर्षीया छोरी प्रितीमा बम्जन र ४२ वर्षीय पोशाकबहादुर वाइबा पनि गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार प्रितीमालाई स्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको छ। अर्का घाइते पोशाकबहादुर वाइबाको बागमतीस्थित सभ्यता अस्पतालमा उपचार भइरहेको छ।
घटनाबारे जानकारी दिँदै प्रहरी नायब उपरीक्षक गौतमले चट्याङबाट घाइते भएका दुवै जनाको उपचार जारी रहेको बताए।