पर्सा । राष्ट्रिय बाल दिवसको अवसरमा पर्साको पकाहाँमैनपुर गाउँपालिकास्थित श्री राम चरित्र भगत माध्यमिक विद्यालयमा चित्रकला प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ। एनसी नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यालयका ३५ जना विद्यार्थीको उत्साहजनक सहभागिता रहेको थियो।
वडा अध्यक्ष सञ्जय प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले आफ्ना भावना, कल्पना र सिर्जनशीलतालाई विभिन्न चित्रमार्फत प्रस्तुत गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष चौहानले बालबालिकाभित्र लुकेर रहेका प्रतिभाको प्रस्फुटन तथा उनीहरूको मनोबल अभिवृद्धिका लागि यस्ता कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले बालबालिकाको उज्ज्वल भविष्य र सर्वाङ्गीण विकासका लागि स्थानीय तहबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विद्यालयका प्रधानाध्यापक मनोज यादवले एनसी नेपालले बालबालिकाको सिर्जनशीलता र प्रतिभा विकासका लागि आयोजना गरेको कार्यक्रम प्रशंसनीय रहेको बताउनुभयो। उहाँले कक्षाकोठाको पढाइसँगै विद्यार्थीलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर दिन सके उनीहरूको आत्मविश्वास र सिर्जनात्मक क्षमता थप विकास हुने उल्लेख गर्नुभयो। विद्यालयमा यस्ता रचनात्मक तथा बालकेन्द्रित कार्यक्रम सञ्चालन गर्न सहयोग पुर्याएकोमा उहाँले एनसी नेपालप्रति धन्यवादसमेत व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी ३५ जना विद्यार्थीका तर्फबाट पनि चित्रकला प्रदर्शनीले आफूहरूलाई आफ्नो प्रतिभा र भावना प्रस्तुत गर्ने महत्वपूर्ण अवसर दिएको प्रतिक्रिया व्यक्त गरिएको थियो। विद्यार्थीहरूले चित्र बनाउने र प्रदर्शनीमा राख्ने अवसर पाउँदा आफूहरू उत्साहित भएको बताउँदै आगामी दिनमा पनि यस्ता सिर्जनात्मक कार्यक्रम निरन्तर आयोजना हुनुपर्ने धारणा राखेका थिए।
बालबालिकामा लुकेर रहेका कला, प्रतिभा र सिर्जनशीलताको प्रस्फुटन गराउने उद्देश्यले आयोजित प्रदर्शनीमा विद्यार्थीहरूले प्रकृति, समाज, शिक्षा, बालअधिकार तथा आफ्ना दैनिक जीवनसँग सम्बन्धित विषयलाई चित्रमार्फत आकर्षक रूपमा प्रस्तुत गरेका थिए।
कार्यक्रमले विद्यार्थीमा रहेको सिर्जनात्मक क्षमता उजागर गर्नुका साथै उनीहरूमा आत्मविश्वास, सहभागिताको भावना र आफ्ना विचार अभिव्यक्त गर्ने क्षमताको विकासमा सहयोग पुगेको आयोजक तथा विद्यालयले जनाएको छ।