रौतहट । गरुडा नगरपालिका–५ महमदपुरमा नेपाली कांग्रेसको नाममा रजिष्टर घुमाएर सक्रिय सदस्यहरूको हस्ताक्षर संकलन गरिएको विषयलाई लिएर विवाद उत्पन्न भएको छ। वडा नम्बर ५ का नेपाली कांग्रेसका सक्रिय सदस्यहरूले उक्त कार्यप्रति आपत्ति जनाउँदै औपचारिक रूपमा एक ठाउँमा भेला भएर सामूहिक हस्ताक्षर गरेका छन्।
सक्रिय सदस्यहरूले आफूहरूको असहमति र विरोधलाई औपचारिक रूपमा अभिलेखमा राख्ने उद्देश्यले हस्ताक्षर संकलन गरी नेपाली कांग्रेसको क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३ र नेपाली कांग्रेस रौतहट जिल्ला कार्यसमितिमा बुझाउने कार्यक्रमसमेत गरेका छन्।
वडा तहमा पार्टीको आन्तरिक प्रक्रिया र निर्णयबारे पारदर्शिता कायम हुनुपर्ने भन्दै सक्रिय सदस्यहरूले आफूहरूलाई जानकारी नै नदिई रजिष्टर घुमाएर हस्ताक्षर गराउने कार्यप्रति प्रश्न उठाएका हुन्। उनीहरूले पार्टीको विधान र निर्धारित प्रक्रियाअनुसार मात्र सदस्यहरूको हस्ताक्षर तथा सहमति संकलन हुनुपर्ने बताएका छन्।
वडा नम्बर ५ का सक्रिय सदस्य रामभरोष यादवका अनुसार आफूहरूले कुनै व्यक्तिविशेषको विरोधभन्दा पनि पार्टीको आन्तरिक प्रक्रियामा पारदर्शिता र विधिको पालना हुनुपर्ने माग राखेका हुन्। “अवैध रूपमा रजिष्टर घुमाएर हस्ताक्षर गराउने कार्यको विरोधमा वडाका सक्रिय सदस्यहरू औपचारिक रूपमा एक ठाउँमा भेला भएर हस्ताक्षर गरेका हौं,” यादवले भने, “हामीले गरेको निर्णय र हस्ताक्षरलाई क्षेत्रीय तथा जिल्ला कार्यसमितिमा बुझाउने औपचारिक कार्यक्रममार्फत पारदर्शी बनाएका छौं।”
सक्रिय सदस्यहरूले पार्टीको वडा तहमा हुने निर्णय, हस्ताक्षर संकलन तथा संगठनसम्बन्धी गतिविधि सम्बन्धित सदस्यहरूको जानकारी र सहभागितामा हुनुपर्ने बताएका छन्। उनीहरूले आफूहरूको सामूहिक हस्ताक्षरलाई क्षेत्रीय र जिल्ला नेतृत्वले आवश्यक छानबिन गरी पार्टीको विधान र प्रक्रिया अनुसार सम्बोधन गर्नुपर्ने मागसमेत गरेका छन्।
महमदपुरमा उठेको यो विषयले नेपाली कांग्रेसको स्थानीय संगठनभित्र आन्तरिक प्रक्रिया, सदस्यहरूको सहभागिता र निर्णयको वैधानिकताबारे प्रश्न खडा गरेको छ। यद्यपि, रजिष्टर कसले, कुन प्रयोजनका लागि र कुन प्रक्रियाअनुसार घुमाएको हो भन्ने विषयमा सम्बन्धित पक्षको आधिकारिक धारणा सार्वजनिक हुन बाँकी छ।