वीरगञ्ज । कर्तव्य ज्यानसम्बन्धी घटनाको अनुसन्धानका क्रममा पर्सा प्रहरीले तीन जना किशोरलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धोबिनी गाउँपालिका–५ का करिब १८ वर्षीय चन्दन कुमार पटेल, सोही स्थानका १८ वर्षीय ‘चलथरिया’ भन्ने राज कपूर बैठा र १८ वर्षीय रामु पासवान रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका तीनै जनालाई पर्सा जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
अनुसन्धानका क्रममा प्रहरीले मृतकको घरबाट चोरी गरी लगिएको भनिएको रकम तथा गरगहनासमेत बरामद गरेको जनाएको छ। प्रहरीले सुनजस्तो देखिने दुई थान चुरा, चुरा बिक्रीबाट प्राप्त रकममध्ये ३ हजार रुपैयाँ, राज कपूर बैठाको साथबाट ७ सय ५० रुपैयाँ, घरको छज्जाबाट फुटप्रिन्ट, गाडीको एक थान सिट कभर, एक थान प्लास र एक थान चक्कु बरामद गरेको जनाएको छ।
बरामद सामग्रीलाई अनुसन्धानको महत्वपूर्ण प्रमाणका रूपमा लिएर प्रहरीले घटनाको पृष्ठभूमि, संलग्नता र घटनाक्रमबारे थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
प्रहरीले घटनासँग सम्बन्धित अन्य पक्षबारे अनुसन्धान जारी रहेको जनाएको छ।