रौतहट। लगातारको भारी वर्षाका कारण लालबकैया नदीको जलस्तर बढेपछि रौतहटको मौलापुर नगरपालिका-१ मर्यादपुरस्थित तटबन्धमा भएको कटान रोक्न स्थानीय प्रशासन र सुरक्षा निकायले सक्रियता बढाएका छन्।
तटबन्ध कटानका कारण मौलापुर नगरपालिकाका वडा नम्बर १, २, ३, ४ र ५ तथा बौधिमाई नगरपालिकाका १, २ र ३ नम्बर वडाका विभिन्न क्षेत्र डुबानको उच्च जोखिममा परेपछि मर्मत कार्यलाई तीव्र बनाइएको छ।
तटबन्धको वर्तमान अवस्था र भइरहेको मर्मत कार्यको आइतबार अबेर साँझ मधेस प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतो, नेपाली सेनाका मध्यपूर्वी पृतना महोत्तरीका पृतनापति उपरथी भुवन केसी, मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारी, र सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीका प्रमुख डीआईजी विष्णुप्रसाद भट्टलगायतका अधिकारीहरूले स्थलगत अनुगमन गरेका छन्।
उक्त अनुगमनमा राष्ट्रिय अनुसन्धान विभाग मधेस प्रदेशका प्रमुख माधव तिम्लसिना, मौलापुर नगरपालिकाकी नगर प्रमुख रिनाकुमारी साह, जिल्ला सुरक्षा समितिका पदाधिकारी, जनप्रतिनिधि तथा स्थानीय बासिन्दासहित करिब ५०-६० जनाको सहभागिता रहेको थियो। अनुगमनका क्रममा मन्त्री महतोले सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै बौधिमाई र मौलापुरमा लालबकैया नदीको तटबन्धमा भइरहेको कटान रोक्न तथा पुनः मर्मत गर्न प्रदेश सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।
प्रशासनका अनुसार मर्यादपुरस्थित तटबन्धमा ठुलो क्षति पुगेमा मौलापुरका साथै गम्हरिया, बरगिनिया, शीतलपुर, सन्तपुर र पेटभरवा क्षेत्र प्रभावित हुने आकलन गरिएको छ। यस्तै फतुवा पुल नजिकैको भगवानपुर क्षेत्रमा रहेको तटबन्ध भत्किएमा बाढीको पानी सदरमुकाम गौरसम्म पुग्न सक्ने जोखिम रहेको अधिकारीहरूले बताएका छन्। ‘तटबन्ध जोगाउनु अहिलेको मुख्य प्राथमिकता हो,’ भन्दै प्रशासनका अधिकारीहरूले जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउनुका साथै आवश्यक सुरक्षा जनशक्ति परिचालन गरिएको जानकारी दिएका छन्।
तटबन्धमा थप क्षति हुन नदिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ। सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा राजपुर र मर्यादपुर क्षेत्रमा कटान सुरु भएका स्थानहरूमा बाँस गाड्ने तथा बालुवा भरिएका बोरा राखेर पानीको बहाव नियन्त्रण गर्ने प्रयास भइरहेको छ। क्षतिग्रस्त तटबन्धको तत्काल मर्मतका लागि प्रहरी जवानदेखि प्रहरी निरीक्षकसम्मलाई आवश्यकता अनुसार खटाइएको प्रहरीले जनाएको छ।
लगातार वर्षा भइरहेकाले लालबकैया नदीमा जलस्तर अझै बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै नदी तथा तटबन्ध आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ। अनावश्यक रूपमा जोखिमयुक्त क्षेत्रमा नजान र बाढीको सूचना पाउने बित्तिकै सुरक्षित स्थानतर्फ जान स्थानीयलाई अनुरोध गरिएको छ। विपद्को जोखिम न्यूनीकरणका लागि बिहानदेखि रातिसम्म मैदानमा खटिएका सुरक्षाकर्मी, प्राविधिक, कर्मचारी, जनप्रतिनिधि र स्थानीय टोलीको सक्रियताले सम्भावित क्षति घटाउन ठुलो सहयोग पुगेको स्थानीय प्रशासनले जनाएको छ।