सिरहा । इलाका प्रहरी कार्यालय सुखीपुरका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) अमिरी यादव गम्भीर आर्थिक अनियमितता, पदको दुरुपयोग तथा भ्रष्टाचारजन्य गतिविधिसम्बन्धी आरोपपछि जिम्मेवारीबाट हटाइ जिल्ला प्रहरी कार्यालय सिरहा तानिएका छन्।
यादवमाथि सीमा क्षेत्रमा हुने अवैध तस्करीलाई संरक्षण दिएको आरोप लाग्दै आएको थियो। स्रोतका अनुसार एक महिला तस्करसँग प्रतिमहिना १० हजार रुपैयाँका दरले नियमित रकम लिने गरेको आरोप सार्वजनिक भएपछि प्रहरी संगठनभित्रै उनको भूमिकामाथि प्रश्न उठेको हो।
यसैबीच, आफूविरुद्धको समाचार प्रकाशन हुन नदिन एक स्थानीय पत्रकारलाई रकम उपलब्ध गराउन खोजेको भनिएको भिडियो सार्वजनिक भएपछि प्रकरणले थप चर्चा पाएको छ। उक्त भिडियोमा समाचार रोक्ने उद्देश्यले पत्रकारलाई प्रभावमा पार्ने प्रयास गरिएको दाबी गरिएको छ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय सुखीपुर परिसरमा नियन्त्रणमा राखिएका सवारीसाधनका पार्टपुर्जा बिक्री गरिएको आरोप पनि बाहिरिएको छ। विभिन्न मुद्दामा नियन्त्रणमा रहेका सवारीसाधनबाट पार्टपुर्जा झिकेर बिक्री भइरहेको अवस्थामा एक मिस्त्री पक्राउ परेको स्रोतले जनाएको छ। स्थानीयवासीले प्रहरीकै संरक्षण र मिलेमतोमा यस्तो गतिविधि सञ्चालन भएको आरोप लगाएका छन्।
तस्करीबाट आर्थिक लाभ लिएको आरोप, पत्रकारलाई प्रभावमा पार्ने प्रयास तथा नियन्त्रणमा रहेका सवारीसाधनका पार्टपुर्जा बिक्रीजस्ता घटनाले प्रहरी संगठनको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्।
नागरिक समाज, स्थानीयवासी तथा सरोकारवालाहरूले घटनाको निष्पक्ष, पारदर्शी र उच्चस्तरीय छानबिन गरी दोषी प्रमाणित हुने जोसुकैमाथि पनि कडा कानुनी कारबाही गर्न माग गरेका छन्।
प्रहरी संगठनभित्रैबाट अनुशासन, पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठ्ने गरी आएका यस्ता आरोपको सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कानुनी कठघरामा ल्याउनुपर्ने आवाज बलियो बन्दै गएको छ।