बारा । बाराको विश्रामपुर गाउँपालिकामा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवले पदबहाली गर्नुभएको छ।
गाउँपालिकाको कार्यालयमा आयोजित स्वागत कार्यक्रमका बीच प्रमुख प्रशासकीय अधिकृत यादवलाई जनप्रतिनिधि तथा कर्मचारीहरूले हार्दिक स्वागत गरेका छन्। उहाँको आगमनसँगै गाउँपालिकाको प्रशासनिक कामकाज तथा सेवा प्रवाह थप व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ।
पदबहालीका अवसरमा प्रमुख प्रशासकीय अधिकृत यादवले गाउँपालिकाको प्रशासनिक सेवालाई पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउँदै जनतालाई सहज तथा छिटोछरितो सेवा प्रदान गर्न आफू प्रतिबद्ध रहने बताउनुभयो।
उहाँले जनप्रतिनिधि र कर्मचारीबीच आपसी समन्वय तथा सहकार्य कायम गर्दै गाउँपालिकाको विकास, सुशासन र संस्थागत सुदृढीकरणका लागि जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्वागत कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृत यादवको सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।