पर्सा, १६ असोज । विद्यार्थीलाई पढाइसँगै खेलकुदमा सक्रिय बनाउँदै उनीहरूमा सकारात्मक सोच, अनुशासन, आत्मविश्वास र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले पोखरिया नगरपालिकाभित्र रहेका २५ वटा सामुदायिक विद्यालयमा खेलकुद सामग्री वितरण गरिएको छ।
पोखरिया नगरपालिका–४ स्थित श्री जिल्ला उच्चाङ्कल रामदेव कलवार माध्यमिक विद्यालय को प्राङगणमा पोखरिया नगरपालिको आयोजनामा सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरूलाई खेलकुदका विभिन्न सामग्री हस्तान्तरण गरिएको हो। चाइना फाउन्डेसन तथा न्यु लाइट फाउन्डेसनको सहयोगमा सामग्री वितरण गरिएको हो ।
सामग्री हस्तान्तरण कार्यक्रम को अध्यक्षता पोखरिया नगरपालिकाका नगर प्रमुख प्रदुमन चौहान समाज सेवी नेजामोदिन समानी ज्यूको समन्वयमा कार्यक्रम ल्याउनमा विशेष सहयोग गर्नु भएको थियो नगर प्रमुखले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि शिक्षासँगै खेलकुदलाई पनि प्राथमिकतामा राख्नुपर्ने धारणा राखे। उनले विद्यालय तहमा खेलकुदका गतिविधि बढाउन सके विद्यार्थीको प्रतिभा पहिचानसँगै उनीहरूलाई सकारात्मक र सिर्जनात्मक गतिविधिमा जोड्न सकिने बताए।
नगरपालिकाका शिक्षा शाखाका सहायक ललन कुमार पटेलले खेलकुदलाई विद्यार्थीको दैनिक सिकाइ प्रक्रियाकै एउटा महत्वपूर्ण हिस्सा बनाउनुपर्ने बताए। उनका अनुसार खेलकुदले शारीरिक तन्दुरुस्ती मात्र नभई विद्यार्थीमा अनुशासन, सहकार्य, नेतृत्व क्षमता र आत्मविश्वाससमेत विकास गर्न मद्दत गर्छ।
त्यस्तै, समाजसेवी निजामुद्दीन समानीले विद्यालयमा खेलकुदको पहुँच विस्तार गर्दै विद्यार्थीलाई आफ्नो रुचि र क्षमताअनुसार अघि बढ्ने वातावरण बनाउनुपर्नेमा जोड दिए। विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूले पनि खेलकुद सामग्रीको उपलब्धताले विद्यार्थीलाई नियमित अभ्यास र विभिन्न खेल गतिविधिमा सहभागी गराउन सहज हुने धारणा राखेका थिए।
श्री जिल्ला उच्चाङ्कल रामदेव कलवार माध्यमिक विद्यालयका प्रधानाध्यापक राजकुमार साहले विद्यालयमा खेलकुदको वातावरण निर्माण गर्नु विद्यार्थीको शैक्षिक उपलब्धिसँगै व्यक्तित्व विकासका लागि पनि आवश्यक रहेको बताए। उनले खेलकुदमार्फत विद्यार्थीमा सकारात्मक सोच, स्वस्थ प्रतिस्पर्धा र अनुशासनको भावना विकास हुने उल्लेख गर्दै विद्यालयमा उपलब्ध सामग्रीको प्रभावकारी उपयोग गरिने प्रतिबद्धता जनाए।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।
आयोजकका अनुसार खेलकुद सामग्री वितरणको उद्देश्य विद्यालयमा खेलकुद गतिविधिलाई नियमित र व्यवस्थित बनाउँदै विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा सहयोग पुर्याउनु हो। खेलकुदमा विद्यार्थीको सहभागिता बढाएर उनीहरूको प्रतिभा पहिचान गर्ने, सकारात्मक सोचको विकास गर्ने र विद्यालयलाई खेलमैत्री वातावरणतर्फ अघि बढाउने अपेक्षा गरिएको छ।
चाईना फाउण्डेशन र न्यू लाईट फाउण्डेशन का प्रतिनिधि कवित कुमार नेपाली र असरफ हुसेनको सहभागी रहेको थियो ।