वीरगञ्ज । प्रतिनिधिसभाका सांसद रहबर अन्सारीले नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा व्यक्त गरेका आरोपप्रति कलेज प्रशासनले ध्यानाकर्षण भएको जनाएको छ।
कलेजले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत सांसद अन्सारीले उठाएका आरोप हालसम्म कुनै सम्बन्धित नियामक वा सरकारी निकायबाट पुष्टि भएको आधिकारिक निष्कर्ष आफूहरूलाई प्राप्त नभएको जनाएको छ।
विज्ञप्तिमा कलेज तथ्यमा आधारित, निष्पक्ष तथा पारदर्शी परीक्षणका लागि पूर्ण रूपमा तयार रहेको उल्लेख गरिएको छ। साथै, सम्बन्धित निकायले माग गरेका आवश्यक अभिलेख तथा विवरण उपलब्ध गराउन प्रतिबद्ध रहेको कलेजले स्पष्ट पारेको छ।
नेशनल मेडिकल कलेजले सन् २००१ देखि त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा प्रदान गर्दै आएको जनाएको छ।
कलेजका अनुसार संस्थाले चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिल तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत सम्बन्धित निकायको नियमित अनुगमन र नियामकीय प्रक्रियाअन्तर्गत सेवा सञ्चालन गर्दै आएको छ।
चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा सार्वजनिक रूपमा उठाइने विषय प्रमाणित तथ्य, दस्तावेजी आधार र अधिकारप्राप्त निकायको आधिकारिक परीक्षणमा आधारित हुनुपर्ने कलेजको धारणा छ।