जनकपुरधाम । चाडपर्वको समयमा जुवातास नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएसँगै धनुषाका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३७ जना पक्राउ परेका छन्।
प्रहरीले पाँच दिनको अवधिमा जनकपुरधामसहित जिल्लाका विभिन्न स्थानमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार कात्तिक ७ देखि २४ गतेसम्म भएका छुट्टाछुट्टै कारबाहीमा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न वडाका बासिन्दासहित महोत्तरी र सर्लाही सम्मका व्यक्ति रहेको प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता एवं डिएसपी ओमप्रकाश खनालले पक्राउ परेकाहरुको साथबाट नेपाली रुपैयाँ ३ लाख ४८ हजार १ सय ९ र भारतीय रुपैयाँ ३ हजार ५ सय बरामद गर्नुका साथै तासका गड्डी तथा मोबाइल फोन र दुई वटा सवारीसाधनसमेत नियन्त्रणमा लिइएको छ ।
प्रहरीका अनुसार कात्तिक ७ गते जनकनन्दनी गाउँपालिका–२ बल्हाबाट सात जना पक्राउ परेका थिए । इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको टोलीले दिउँसो करिब २ः४० बजे तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको थियो । उनीहरूको साथबाट नेपाली रुपैयाँ १३ हजार २ सय ८५, भारतीय रुपैयाँ २ हजार ३ सय, तासका दुई बुक र तीन वटा मोबाइल बरामद गरिएको थियो।
त्यस्तै, कात्तिक १९ गते बिहान करिब ५ बजे जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित बसपार्कबाट दुई जना पक्राउ परेका थिए । पक्राउ पर्नेमा जनकपुरधाम–७ का ४० वर्षीय सुजित शर्मा र ४६ वर्षीय शिवशंकर मिश्रा रहेका छन्। उनीहरूको साथबाट पाँच गड्डी तास, १७ हजार ४०० रुपैयाँ नगद तथा प्रदेश २–०२–००४ प ३९९६ नम्बरको स्कुटर र प्रदेश २–०२–००५ प ४६२५ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
कात्तिक २१ गते मध्यराति जनकपुरधाम–९ स्थित काली होटलमा जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा जनकपुरधाम, महोत्तरी र सर्लाहीका पाँच जना पक्राउ परेका थिए । उनीहरूको साथबाट नेपाली रुपैयाँ ८८ हजार २ सय ८०, भारतीय रुपैयाँ १ हजार २ सय, तासका १३ सेट र छवटा मोबाइल बरामद गरिएको थियो।
यसैगरी, कात्तिक २३ गते बिहान करिब ५ः३० बजे जनकपुरधाम–१४ रजौलस्थित साजन टेन्ट हाउसमा तास खेलिरहेको अवस्थामा १८ जना पक्राउ परेका थिए। उनीहरूको साथबाट तीन गड्डी तास र नेपाली रुपैयाँ १ लाख ६१ हजार ६ सय ४४ बरामद गरिएको प्रहरीले जनाएको छ। कात्तिक २४ गते राति करिब १ बजे जनकपुरधाम–२ स्थित सिटी होटलमा तास खेलिरहेको अवस्थामा थप पाँच जना पक्राउ परेका छन् ।
उनीहरूको साथबाट ६७ हजार ५ सय रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले विभिन्न स्थानबाट पक्राउ परेका ३७ जनामाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।
प्रहरीको विवरणअनुसार धनुषामा जुवातास खेल्ने गतिविधि सार्वजनिक स्थानदेखि होटल र निजी घरभित्रसम्म हुने गरेको देखिएको छ। जनकनन्दनी गाउँपालिकाको बल्हा, जनकपुरधामको बसपार्क, काली होटल, साजन टेन्ट हाउस र सिटी होटलबाट भएका कारबाहीले यस्तो गतिविधि विभिन्न स्थानमा सञ्चालन भइरहेको छ ।
चाडपर्वका बेला जुवातास नियन्त्रणका लागि प्रहरीले निगरानी र कारबाहीलाई तीव्र बनाएसँगै यस्तो कार्य गर्न र नगराउन आग्रह समेत गरेको छ।
जुवाडे छुटाउन सडकमा टायर बालेर विरोध प्रदर्शन
कात्तिक २३ गते बिहान जनकपुरधाम–१४ रजौलस्थित साजन टेन्ट हाउसमा तास खेलिरहेको अवस्थामा पक्राउ परेकालाई छोडनुपर्ने भन्दै स्थानियबासी आन्दोलनमा उत्रिएका छन् ।
उनीहरुले मंगलबार साँझ जनकपुर ९ स्थित थापाचौकमा सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका छन्। सो क्रममा केही बेर आवतजावत अवरुद्ध समेत बनेको थियो ।
प्रहरी प्रवक्ता एवं डिएसपी ओमप्रकाश खनालले पक्राउ परेकाहरूलाई छोड्न दबाब दिने उद्देश्यले स्थानीय तथा परिवारजन आन्दोलनमा होमिएको बताए ।