पर्सा । इलाका प्रहरी कार्यालय पोखरियाको नेतृत्व सम्हालेदेखि प्रहरी निरीक्षक भानुभक्त अर्याल विवादमा तानिँदै आएका छन्। उनको नेतृत्वमा रहेको क्षेत्रमा अवैध कारोबार, आपसी झडप, लागुऔषध, कालोबजारी तथा प्रहरीमाथि आर्थिक चलखेलको आरोप सार्वजनिक हुन थालेपछि प्रहरी प्रशासनको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको छ।
तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीका गाउँले बताउने तथा पर्साको पोखरियाको जिम्मेवारी सम्हालेका प्रहरी निरीक्षक अर्यालको नेतृत्वमा शान्तिसुरक्षा कायम गर्ने सवालमा कमजोरी देखिएको स्थानीयको गुनासो छ।
आज पर्साको पकाहामैनपुर गाउँपालिका–१ र ३ का स्थानीयबीच करिब आधा घण्टासम्म चलेको विवाद कुटपिटमा परिणत भएको छ। विवाद हालसम्म नियन्त्रणमा आउन नसकेको बताइएको छ। आधा घण्टासम्म तनावपूर्ण अवस्था सिर्जना हुँदा पनि घटनालाई समयमै नियन्त्रणमा लिन नसकेको भन्दै प्रहरी नेतृत्वको भूमिकामाथि आलोचना भइरहेको छ।
त्यस्तै, अर्यालकै कार्यक्षेत्रअन्तर्गत पर्ने मधुवनीमा पटाका पड्काउने क्रममा आठ वर्षीय बालकको मृत्यु भएको घटनाले पनि चाडपर्वका बेला प्रहरी गस्ती र अवैध पटाका नियन्त्रणको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ।
यसअघि ब्राउन सुगर, अभद्र व्यवहार तथा कालोबजारीसम्बन्धी मुद्दा मिलाइदिने भन्दै उनकै मातहतमा रहेका प्रहरी कर्मचारीले सम्बन्धित व्यक्तिसँग आर्थिक लेनदेन गरेको आरोपसमेत समाचारमार्फत सार्वजनिक भएको थियो। उक्त विषयमा पर्साका प्रहरी उपरीक्षक पवन भट्टराईले गस्तीका क्रममा मुद्दा शाखाका प्रहरी हवल्दार बिकाउ यादव र मुकेश नामले चिनिने प्रहरी कर्मचारीलाई आफ्नै गाडीमा राखेर जिल्ला प्रहरी कार्यालय तानेका थिए।
तर, आर्थिक चलखेल र बिचौलेसँग साँठघाट राखेका मुख्य व्यक्तिको पात्रमा रहेका प्रहरी सहायक निरीक्षक रुपेश चौधरीमाथि भने कारबाही नभएको भन्दै प्रहरी संगठनभित्रै संरक्षणको चर्चा भइरहेको छ। एउटै प्रकरणमा केही प्रहरी कर्मचारीलाई जिल्ला तान्ने तर मुख्य भूमिकामा रहेको आरोप लागेका अधिकारीमाथि कारबाही नभएको विषयले निष्पक्ष छानबिनमाथि थप प्रश्न खडा गरेको छ। यद्यपि, यस विषयमा सम्बन्धित प्रहरी अधिकारीहरूको आधिकारिक धारणा र छानबिनको निष्कर्ष सार्वजनिक हुन बाँकी छ।
एकपछि अर्को विवाद र घटनाले इलाका प्रहरी कार्यालय पोखरियाको नेतृत्वमाथि प्रश्नैप्रश्न खडा गरेको छ। प्रहरी निरीक्षक अर्यालले आफ्नो कार्यक्षेत्रमा शान्तिसुरक्षा कायम गर्न किन प्रभावकारी भूमिका खेल्न सकेका छैनन्? अवैध कारोबार र आपसी झडप नियन्त्रणमा प्रहरीको सक्रियता कहाँ हराएको छ? प्रहरी कर्मचारीमाथि लागेको आर्थिक चलखेलको आरोपमा निष्पक्ष छानबिन किन भइरहेको छैन? एउटै प्रकरणमा आरोपित प्रहरी कर्मचारीमाथि फरक–फरक व्यवहार किन भइरहेको छ? र जिम्मेवारीमा रहेका अधिकारीहरूको जवाफदेहिता कसले सुनिश्चित गर्ने?
पोखरिया क्षेत्रमा लगातार उठिरहेका यी सवालको जवाफ सम्बन्धित प्रहरी नेतृत्वले दिनुपर्ने देखिन्छ। प्रहरीको जिम्मेवारी केवल घटना भएपछि परिचालन हुनु मात्र होइन, घटना हुन नदिनु र नागरिकलाई सुरक्षाको अनुभूति दिलाउनु पनि हो। त्यसैले प्रहरी निरीक्षक अर्यालको नेतृत्वमा भएका घटनाक्रमबारे जिल्ला प्रहरी कार्यालय पर्सा र मधेश प्रदेश प्रहरी कार्यालयले निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने माग उठेको छ।
यस विषयमा प्रहरी निरीक्षक अर्यालसँग बुझ्न खोज्दा फोन उठेन।