सर्लाही । सर्लाहीको चुरेवर्ती क्षेत्रका स्थानीयवासी अझै पनि खानेपानीको चरम समस्या झेल्न बाध्य छन्। चुरे क्षेत्रका घारिबथान, परवानीपुर, पत्थरकोट, नारायणखोला र ढुङ्ग्रेखोलालगायत बस्तीमा खानेपानीको समस्या वर्षौंदेखि यथावत् रहेको छ।
हिउँदमा खानेपानीका मुहान सुक्ने र वर्षायाममा खोलामा आउने बाढीले खानेपानीका इन्टेक तथा पाइप बगाउने गर्दा चुरेवर्ती क्षेत्रका धेरै गाउँमा खानेपानीको अभाव हुने गरेको स्थानीयको गुनासो छ।
लालबन्दी नगरपालिका–१५, भित्रीखोलाका तिलक योञ्जनले वर्षापछि खोलामा आएको बाढी कुवामा पसेर बालुवा थुप्रिँदा धमिलो पानी पिउनुपर्ने बाध्यता रहेको बताउनुभयो। उहाँका अनुसार हिउँदमा कुवा सुक्ने र वर्षायाममा बाढी पसेर पानी दूषित हुने समस्या छ।
चुरे क्षेत्रका अधिकांश स्थानीय अहिले पनि कुवा, जरुवा, पाखा तथा खोलाको पानीमा निर्भर छन्। चुरे क्षेत्रको फेदीमा समेत खोलामा इन्टेक राखेर पाइपमार्फत पानी ल्याई विभिन्न स्थानमा धारा निर्माण गरेर वितरण गरिएको छ। तर, ती धारामा पनि अहिले धमिलो पानी आउने गरेको स्थानीय बताउँछन्।
वडा तथा पालिकाले चुरे क्षेत्रका केही स्थानमा लिफ्टिङ प्रविधिबाट खानेपानी पुर्याए पनि भौगोलिक विकटताका कारण धेरै बस्तीमा अझै खानेपानी सुविधा पुग्न सकेको छैन।
स्थानीयका अनुसार खानेपानी अभाव चुरे क्षेत्रको प्रमुख समस्यामध्ये एक हो। ईश्वरपुर नगरपालिका–१२, लामीदमारका प्रेमबहादुर बलले खानेपानी र सडकको समस्या वर्षौंदेखि समाधान हुन नसकेको गुनासो गर्नुभयो।
खोलाको दूषित पानी पिउनुपर्दा स्थानीय बारम्बार पानीजन्य सङ्क्रमणको जोखिममा पर्ने गरेको उहाँले बताउनुभयो। “भौगोलिक रूपमा विकट ठाउँ भएकाले खोला र खोल्साको पानी पिउनुको विकल्प छैन। दूषित पानी पिउँदा गाउँले बारम्बार बिरामी परिरहन्छन्,” उहाँले भन्नुभयो।
खानेपानीका लागि स्थानीय झिसमिसेमै खोलाखोल्सा र कुवामा पुग्नुपर्ने बाध्यता छ। धारामा थोरै मात्र पानी आउने स्थानमा पानी भर्ने विषयलाई लिएर पटक–पटक विवादसमेत हुने गरेको स्थानीयको भनाइ छ।
चुरे क्षेत्रका विभिन्न स्थानमा सङ्घ, प्रदेश तथा स्थानीय सरकारले लाखौँ रुपैयाँ खर्च गरेर सुरु गरेका खानेपानी आयोजना अलपत्र परेको स्थानीयको आरोप छ। उनीहरूका अनुसार कतिपय आयोजना बजेट खर्च गर्ने माध्यममा मात्रै सीमित भएका छन्।
यता, हरिवन नगरपालिका–१ का वडाध्यक्ष टमबहादुर तामाङले भने यस वर्ष आफ्नो वडाका शतप्रतिशत घरधुरीमा खानेपानी सुविधा पुग्ने दाबी गर्नुभएको छ। निर्वाचित भएर आएदेखि नै चुरेका डाँडापाखामा रहेका अधिकांश बस्तीमा मुहान पहिचान गरी लिफ्टिङ प्रविधिबाट खानेपानी पुर्याइएको उहाँले बताउनुभयो।
हरिवन नगरपालिका–१ मा यूएनडीपीसहित विभिन्न निकायबाट पटक–पटक बजेट प्राप्त भएकाले खानेपानी सेवा विस्तारमा सहयोग पुगेको वडाध्यक्ष तामाङको भनाइ छ। “हामीले सबैभन्दा धेरै बजेट खानेपानीमै खर्च गरेका छौँ। त्यसैले चुरे क्षेत्रका अन्य ठाउँमा जस्तो समस्या हाम्रो वडामा छैन,” उहाँले भन्नुभयो।