झापा । झापाको दक्षिणी सीमावर्ती क्षेत्र झापा गाउँपालिकामा चौपाया तस्कर र सशस्त्र प्रहरीबीच झडप हुँदा एकजना घाइते भएका छन्। नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएका १८ वटा गोरु नियन्त्रणमा लिने क्रममा तस्कर र सुरक्षाकर्मीबीच विवाद भएपछि झडप भएको हो।
झापा गाउँपालिका–१ स्थित लसुनगञ्ज सीमा नाकाबाट व्यापक मात्रामा चौपाया तस्करी भइरहेको सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल ३८ नम्बर रिजर्भ गण पाडाजुङ्गीबाट सशस्त्र प्रहरी उपरीक्षक दिनेशकुमार बस्नेतको कमान्डमा २५ जनाको टोली परिचालन भएको थियो।
सशस्त्र टोलीले नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेका गोरु नियन्त्रणमा लिएको थियो। सोही क्रममा १० देखि १५ जनाको समूहमा रहेका चौपाया कारोबारीले सुरक्षाकर्मीको बाटो छेकेर विवाद गर्नुका साथै हातपातको प्रयास गरेका थिए।
स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले बल प्रयोग गर्दा झडप भएको बताइएको छ। सशस्त्र प्रहरीको लाठी प्रहारबाट झापा गाउँपालिका–२ निवासी ४१ वर्षीय विनोदकुमार बराइली घाइते भएका छन्। उनको दाहिने खुट्टाको तिघ्रामा चोट लाग्नुका साथै हड्डीसमेत भाँचिएको छ। घाइते बराइलीलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो।
नियन्त्रणमा लिइएका १८ वटा गोरु बीओपी टाँघनडुब्बाको कार्यालयमा राखिएको थियो। पछि ती चौपाया भन्सार कार्यालयमा बुझाइएको थियो। प्रहरी स्रोतका अनुसार भन्सार कार्यालयमा २ लाख ५५ हजार रुपैयाँ राजस्व बुझाएर चौपाया कारोबारीले ती गोरु लिएर गएका थिए ।
भारतसँग खुला सीमा जोडिएको झापाका दक्षिणी नाकाहरूबाट पछिल्लो समय चौपायासहित विभिन्न वस्तुको अवैध ओसारपसार हुने गरेको छ। सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणका लागि सुरक्षाकर्मीले गस्ती तथा निगरानी बढाउँदै आएका छन्।