वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१० स्थित घडिअर्वा छठघाटमा छठ पर्वको मुख्य दिन कात्तिक २९ गते आइतबार साँझ नेपाली सेनाले विशेष परेडसहित सलामी अर्पण गर्ने भएको छ।
श्रीपुरस्थित नेपाली सेनाको श्रीजंग गणबाट प्रमुख सेनानी लोकेन्द्र कार्कीको नेतृत्वमा वाद्यवादनसहितको सैनिक टोली मार्च गर्दै घडिअर्वा छठघाट पुग्ने कार्यक्रम रहेको छ। त्यसपछि छठघाट परिसरमा रहेको सूर्य भगवान्को मन्दिरमा सैनिक विधिअनुसार छठी माई र सूर्य भगवान्लाई सलामी अर्पण गरिने प्रमुख सेनानी कार्कीले जानकारी दिए।
घडिअर्वा छठपूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश कुमार साहका अनुसार छठ पर्वप्रति सम्मान प्रकट गर्ने उद्देश्यले स्थानीयवासीको सल्लाहमा गत वर्ष नेपाली सेनासँग सलामीका लागि आग्रह गरिएको थियो। सेनाले सहमति जनाएपछि सुरु भएको उक्त कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिन लागिएको उनले बताए।
नेपाली सेनाले विभिन्न धर्म, संस्कृति र परम्पराको सम्मान गर्दै आएको उल्लेख गर्दै प्रमुख सेनानी कार्कीले छठ पर्वप्रतिको बढ्दो आस्था र लोकप्रियतालाई मध्यनजर गर्दै सलामी कार्यक्रमलाई निरन्तरता दिन लागिएको बताए।
छठ पर्वका अवसरमा नेपाली सेनाले सलामी अर्पण गर्ने यस कार्यक्रमले धार्मिक आस्था, सांस्कृतिक सम्मान र सामाजिक सद्भावको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।