जनकपुरधाम । सिरहाको भगवानपुर गाउँपालिकाबाट ८३ किलोभन्दा बढी गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भगवानपुर गाउँपालिका–४ कल्याणपुर टोलका ५५ वर्षीय देवशरण यादव रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार आज बिहान करिब ३ः३० बजे भगवानपुर गाउँपालिका–४ स्थित बलान खोलामा केही व्यक्ति टाउकोमा पोका बोकेर आउँदै गरेको सूचना प्राप्त भएको थियो ।
सोही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी ठाडीबाट खटिएको संयुक्त प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी टोली पुगेपछि उनीहरूले बोकेको पोका फालेर भाग्ने प्रयास गरेका थिए । सोही क्रममा प्रहरीले यादवलाई नियन्त्रणमा लिएको थियो ।
घटनास्थलबाट गाँजा भरिएका पाँचवटा पोका बरामद गरिएको प्रहरीले जनाएको छ । कपडा र प्लास्टिकले बेरिएको बोरासहित तौल गर्दा कुल ८३ किलो ५६० ग्राम गाँजा रहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न अन्य व्यक्ति भने फरार भएका छन् । उनीहरूको खोजी भइरहेको र पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।