मोरङ । मोरङको जहदा गाउँपालिका- २, मोहनपुरमा रड प्रहार गरी एक पुरुषको हत्यामा संलग्न रहेकी मृतककी श्रीमतीसहित दुईजनालाई पक्राउ गरिएको छ ।
हिजो राति करिब ९ बजे स्थानीय ४० वर्षीय बुधराम सोरेनलाई निजकी श्रीमती ३५ वर्षीया कमली बास्के र भारत बिहारका २७ वर्षीय सुनील मिश्र मिलेर टाउकोमा रड प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ घटनामा प्रयोग भएको रडसहित सुनील मिश्रलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनापछि फरार रहेकी कमली बास्केलाई आज बिहान करिब साढे सात बजे खेतमा भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।