पर्सा । हिन्दु धर्मावलम्बीहरूको महान् चाड दीपावली तथा छठ पर्वको अवसरमा पर्साको धोबीनी गाउँपालिका–३ गुलरियामा आयोजित ‘गुलरिया च्याम्पियन ट्रफी क्रिकेट टुर्नामेन्ट’ प्रतियोगिता सोमबारदेखि सुरु भएको छ।गुलरिया क्रिकेट क्लबको आयोजनामा गुलरिया क्रिकेट खेलमैदानमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन धोबीनी गाउँपालिका–३ का वडाध्यक्ष राजकिशोर प्रसाद कुर्मीले रिबन काटेर गरेका हुन।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि बशिष्ट नारायण प्रसाद कुर्मीले गाउँमा क्रिकेटप्रति देखिएको उत्साह र युवाहरूको सक्रियताको प्रशंसा गर्दै स्थानीय खेलप्रेमी तथा आयोजकलाई धन्यवाद व्यक्त गरे। उनले खेलकुदले शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै खेलकुद स्वास्थ्यका लागि औषधिसरह रहेको बताए।
खेलकुदले गाउँपालिका मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत गाउँको पहिचान स्थापित गर्न सहयोग पुर्याउने उनको भनाइ थियो। साथै, आगामी दिनमा युवाहरूलाई खेलकुदप्रति थप उत्साहित बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता वडाध्यक्ष राजकिशोर प्रसाद कुर्मीले व्यक्त गरे।
कार्यक्रममा उपाध्यक्ष प्रतिनिधि एवं नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि श्यामकिशोर कुर्मी, धोबीनी गाउँपालिका–४ का वडाध्यक्ष अबास मियाँ, राष्ट्रिय स्वतन्त्र पार्टीका गाउँपालिका सभापति सुदिल पटेल, योजना शाखा प्रमुख पपु पटेल, प्रशासन प्रमुख सञ्जय यादव, पूर्वशिक्षक पारस पटेल, ईसरायल देवान, धर्मेन्द्र पटेल, पनालाल साह, सावन पटेललगायत खेलप्रेमी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
आयोजक संस्थाका घनश्याम पटेलका अनुसार प्रतियोगितामा नेपाल र भारतका गरी आठवटा टोलीले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताअन्तर्गत उद्घाटन दिन भएको पहिलो खेलमा गुलरिया क्रिकेट क्लब र मधेस टाइगर टोलीबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा मधेस टाइगर टोलीले जित हासिल गरेको आयोजकले जनाएको छ।
त्यसैगरी, प्रतियोगिताको दोस्रो दिन भारतको सीतामढी र पश्चिम चम्पारणबीच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ।स्थानीय स्तरमा क्रिकेट खेलको विकास, युवाहरूको प्रतिभा पहिचान तथा खेलकुदप्रति आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।