वीरगञ्ज । गत महिनाको अन्तिम साता वीरगञ्जमा हत्या गरिएकी १० वर्षीय बालिका रिजवाना महतो हत्यारालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ निवासी ४० वर्षीय मोती पटेल भनिने मोतीलाल प्रसाद कुर्मीलाई रिजवानाको हत्याको आरोपमा पक्राउ गरेको हो । पटेलले अवैध सम्बन्ध लुकाउन रिजवानाको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
घटना पश्चात रिजवानाको परिवारले पटेल विरुद्ध दिएको किटानी जाहेरीको आधारमा अनुसन्धान गर्दै जाँदा पटेलले अवैध सम्बन्ध लुकाउने उद्देश्यले रिजवानाको हत्या गरेको प्रहरीले जनाएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ घर भइ हाल वडा नम्बर १५ भिष्वामा बस्दै आएका सरोज महतो कुश्वाहाकी छोरी १० वर्षीय रिजवाना महतोको शव गत पुष २४ गते यहाँस्थित कञ्चनजङ्घा स्कुल नजिकै निर्माणाधीन भवनको उत्तरपट्टिको चेपमा भेटिएको थियो ।प्रहरीका अनुसार रिजवानाको टाउकोमा ढुङ्गा प्रहार गरेर हत्या गरिएको थियो ।
पटेलमाथि अपहरण तथा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले जानकारी दिए ।