बाँके । अपहरण तथा कर्तव्य ज्यान मुद्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपालगंज उपमहानगरपालिका–१० भृकुटीनगर बस्ने ३० वर्षीय सौभाग्य मल्ल छन्। उनलाई १० वर्षपछि प्रहरीले शुक्रबार पक्राउ गरेको हो।
नेपालगंज उपमहानगरपालिका–१ पारिजात मार्ग बस्ने २१ वर्षीय हिमाल बुढालाई २०६७ माघ ३ गते अपहरण गरी बन्धक बनाई मारेको घटनामा उनी फरार रहेका थिए।
उनी गोरखामा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय गोरखासँगको समन्वयमा पक्राउ गरेको हो।
उनलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।