काठमाडौँ । उदयपुरको बेलका नगरपालिका–८ स्थित सिरुवानीबाट प्रहरीले ४ सय केजी गाँजा बरामद गरेको छ। उक्त गाँजासहित गाँजा ओसारपसार गर्ने ३ जनालाई पक्राउ गरिएको उदयपुर प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा बेलका नगरपालिका–८ बस्ने २७ वर्षीय गोकुल राई, बेलका–७ बस्ने २९ वर्षीय मनोज राई र सुनसरीको बराहक्षेत्र घर भएका २३ वर्षीय मनिष धामी छन् । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको टोलीले को १ ज २७६१ नम्बरको महेन्द्र पिकअपबाट सो गाँजा बरामद गरेको थियो ।
पक्राउ परेका गोकुल राई पिकअपका साहु र चालक पनि हुन्। आरोपीहरुको साथबाट प्रहरीले ६३ हजार नगद पनि बरामद गरेको छ। उनीहरुविरुद्ध लागु औषध नियन्त्रण ऐन–२०३३ अनुसार जिल्ला अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।