काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवा र ओलीबीच भेटवार्ता सकिएलगत्तै बानेश्वरस्थित संसद भवन पुगेर प्रचण्डले यस्तो प्रस्ताव गरेका हुन्।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव राखेको बताएका छन्।
‘तपाईं प्रधानमन्त्री भइदिनुस् हामी सहयोग गर्छौ प्रचण्डजीको प्रस्ताव छ,’ भट्टराईले भने,‘अहिले हामी प्रधानमन्त्रीभन्दा पनि मुलुकलाई निकास दिनतर्फ केन्द्रित छौं।’
प्रचण्डको प्रस्तावमा विश्वास गर्ने आधार नरहेको उनले बताए। भट्टराईले कांग्रेससँग साँझ हुने छलफलको आधारमा सत्ता गठबन्धनको भविष्य तय हुने जिकिर गरे।
एमसिसी अनुमोदनका लागि सत्ता गठबन्धनबाटै प्रधानमन्त्री देउवा समस्यामा परेपछि प्रमुख प्रतिपक्षी दल एमालेसँगको संवादलाई तिब्रता दिएका छन्। कांग्रेस र एमालेबीच संवाद बढिरहेकै बेला प्रचण्ड संसद भवन पुगेर एमाले अध्यक्षलाई भेटेका हुन्।