

वीरगञ्ज । नेपाल बुद्धिजीवी परिषद् पर्साको नवौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । वीरगञ्ज–१५ मा आयोजित अधिवेशनको उद्घाटन परिषद्का प्रदेश इन्चार्ज डा कामानन्द देवले गरेका थिए ।
सो अवसरमा उनले बुद्धिजीवीहरुले समाजलाई सही दिशा दिनुपर्ने बताए । उनले एमालेनजीक परिषद् रहेको र यसले एमालेका गतिविधि सम्बन्धमा निगरानी गरेर सही सुझाव दिनुपर्ने बताए ।
नेकपा एमाले, पर्साका इन्चार्ज प्रभु हजराले बुद्धिजीवी परिषद्लाई पार्टीले चलायमान गर्न नसकेको बताए । उनले गठन हुने र अधिवेशन गर्ने कामबाहेक अन्य बेलामा बुद्धिजीवी परिषद्को सक्रियता नदेखिएको बताए । उनले पार्टीका सम्पूर्ण गतिविधिबारे सही टीकाटिप्पणी गरेर दिशानिर्देश गर्न बुद्धिजीवी परिषद् गठन गरेर पनि सो अनुरुप कार्य हुन नसकेको बताए ।
एमाले केन्द्रीय सदस्य अरविन्द सिंहले विचार प्रवाह गर्नेभन्दा पनि भीडलाई प्रोत्साहित गर्ने गतिविधि बढिरहेकोमा चिन्ता व्यक्त गरे । उनले पार्टीप्रति लगनशील व्यक्तिहरुभन्दा भीड देखाउने र अनुशासनमा नरहने अवसरवादहरुको खोजी हुँदा पार्टीभित्रका असल व्यक्तिहरुको चित्त दुखाइ बढ्दै गएको बताए ।
प्रेस चौतारीका केन्द्रीय सदस्य शत्रुघ्न नेपालले बुद्धिजीवीहरु दलीय सोचबाट ग्रसित भएकोले समाजले सही दिशा पाउन नसकेको बताए । उनले विभिन्नखाले गतिविधिमा बुद्धिजीवीहरुको सही टीका टिप्पणी नहुँदा आम मानिसहरुबीच मतमतान्तर बढेको र त्यसको ज्वलन्त उदाहरण एमसिसीमा देखापरेको बताए ।
यसैगरी नवौं जिल्ला अधिवेशनबाट नयाँ कार्य समिति चयन भएको छ । अध्यक्षमा शम्भु गुप्ता , उपध्यक्षमा हरेराम सरार्फ , सचिवमा रुदल ठाकुर , कोषाध्यक्षमा सुष्मा शार्मा र सदस्यहरु कोपिला चौलागाई , आशकोहनी चौधरी लगायतका ७ जना सदस्यमा चयन भएको छन्
परिषद्का अध्यक्ष अफजल हुसेन अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा बलिराम सिंहलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा हरेराम सर्राफले स्वागत र केसी लामिछानेले सहजीकरण गरेका थिए ।