वीरगञ्ज । पर्सा प्रहरीले ११ लाख मूल्य बराबरको भन्सार छलीको चामल नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ रानीघाट सडकखण्डमा चेकजाँचको क्रममा प्रदेश ०३ ०३–००१ च ०५२२ नम्बरको पिक अप गाडीबाट प्रज्ञापन पत्र बिनाको १ सय १८ बोरा भारतीय चामल प्रहरीले नियन्त्रणमा लिएको हो ।
भारतीय चामल भन्सार छलेर वीरगञ्जबाट बाराको जितपुरतर्फ जाँदै गरेको सूचनाको आधारमा प्रहरीले चेकजाँच गरेको थियो । चामल कसले आयात गरेको भन्ने बारे प्रहरीले कुनै जानकारी दिएको छैन ।
नियन्त्रीत चामललाई ११ लाख रुपैयाँ मूल्याङ्कन गरी आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।