रौतहट । सवारी दुर्घटनामा प्रहरीले निर्दोषलाई फंसाउन खोजेको भन्दै नेकपा एमालका कार्यकर्ताहरुले रौतहटमा प्रदर्शन गरेका छन । चन्द्रनिगाहपुर गौर सडकखण्डको हर्साहा चौकमा भएको सवारी दुर्घटनामा चालकलाई छोडेर गाडीधनीलाई फसाउन खोजेको भन्दै एमालेका सैयौं कार्यकर्ताहरुले गरुडा बजारमा मंगलवार प्रर्दशन गरेका हुन् ।
पिडीत परिवारलाई न्याय दिन र निर्दोषलाई नफंसाउन आन्दोलनकारीहरुले माग गरेका छन् । एमालेका नेता कार्यकर्ताले ‘पिडित परिवारलाई न्याय दे, घटनाको छानबिन समिति गठन गर, निर्दोष फसाउन पाइदैन’ जस्ता नारा लगाउदै गरुडा बजारमा प्रर्दशन गरेका हुन् । गत बुधबार राति चन्द्रनिगाहपुर–गौर सडकखण्डको हर्साहा चोकमा जिपले ठक्कर दिँदा २ जनाको मृत्यु भएको थियो भने २ जना प्रहरी घाइते भएका थिए । नेकपा एमाले रौतहटले शुक्रबार विज्ञप्ति जारी गर्दै दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन र राजनीतिक पुर्वाग्रह नराख्न आग्रह गरेको थियो ।
बुधवार राति चन्द्रनिगाहपुरबाट गरुडा तर्फ गइरहेको बा १७ च ६१६३ नम्बरको पिकअप जिपले साढे ८ बजे हर्साहा चोकमा ठक्कर दिँदा वृन्दावन नगरपालिका–६ का ३५ वर्षीय जितेन्द्र पटेल र २८ वर्षीय हरी कुमार ठाकुरको मृत्यु भएको थियो । ठक्कर दिएपछि अनियन्त्रित भएको पिकअपले हर्साह प्रहरी चौकीका असई उपेन्द्रकुमार यादव र जवान मुस्तफा अन्सारीलाई समेत ठक्कर दिँदा उनीहरु घाइते भएका छन ।
घटनापछि मौलापुर नगरपालिका घर भएका सञ्जय पाण्डे र कुन्दन पाण्डे पक्राउ परेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए ।
घटनाको भोलिपल्ट बिहीबार राती प्रहरीले पक्राउ परेका दुबैजनालाई जिम्माजमानिमा छाडेको थियो । दुवै लाई आवश्यक परेको बेला हाजिर हुने गरि छाडीएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।
बिहीबारनै मृतकका आफन्त विनोद राउत कुर्मीले ईलाका प्रहरी कार्यालय गरुडामा सवारीधनी नागेन्द्र साहको नाममा किटानी जाहेरी दर्ता गराएका थिए । सवारी धनी निर्माण व्यवसायी नागेन्द्र साह एमालेका स्थायी कमिटी सदस्य तथा पुर्वमन्त्री प्रभु साहका भाई पर्ने व्यक्ति हुन् ।