वीरगञ्ज । निर्वाचन आयोगले आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनमा खटिने प्रयोजनका लागि छनोट भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नाम सार्वजनिक गरेको छ ।
उक्त निर्वाचनका लागि जिल्ला न्यायाधीश र राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई यही चैत २९ देखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्त गरिने सूचनामा उल्लेख छ ।
पर्साका १४ वटा स्थानीय तहका लागि पनि आयोगले निर्वाचन अधिकृतको नाम सार्वजनिक गरेको हो । जिल्लाको सदरमुकाम वीरगञ्ज महानगरपालिकामा पर्सा जिल्ला अदालतका न्यायाधिश धर्म राज पौडेलले मूख्य निर्वाचन अधिकृतको जिम्मेवारी पाएका छन् ।
त्यसैगरी बहुदरमाई नगरपालिकामा उच्च अदालत पाटन, हेटौँडा इजलासका उपरजिस्ट्रार कैलाशप्रसाद भट्टाराई, पोखरिया नगरपालिकामा जिल्ला सरकारी वकिल कार्यालय पर्साका जिल्ला न्यायाधिवक्ता पदम बहादुर कार्की, पर्सागढी नगरपालिकामा उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका उपरजिस्ट्रार केशवप्रसाद पौडेलले जिम्मेवारी पाएका छन् ।
त्यस्तै पटेर्वासुगौली गाउँपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेशका उप-सचिव गौतम भण्डारी, ठोरी गाउँपालिकामा राष्ट्रिय योजना आयोगको सचिवालयका उप-सचिव शिव राज न्यौपाने, जिराभवानी गाउँपालिकामा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका उप-सचिव झविन्द्रप्रसाद पाण्डे, कालिकामाइ गाउँपालिकामा महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता प्रकाश कोइराला, सखुवा प्रसौनी गाउँपालिकामा महान्यायाधिवक्ता कार्यालय बागमती प्रदेशका उपन्यायाधिवक्ता उपन्यायाधिवक्ता सूर्य प्रसाद पौडेल, विन्दवासिनी गाउँपालिकामा पर्सा जिल्ला अदालतका सेस्तेदार अरुणकुमार कोइराला, पकाहमैनपुर गाउँपालिकामा राष्ट्रिय योजना आयोगको सचिवालयका उप-सचिव क्रिषण प्रसाद देवकोटा, धोविनी गाउँपालिकामा उच्च सरकारी वकिल कार्यालय वीरगञ्जका उपन्यायाधिवक्ता कैलाश दाहाल, जगरनाथपुर गाउँपालिकामा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका उपसचिव हिरा न्यौपाने र छिपहरमाई गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत मुकुन्द निरौला रहेका छन् ।
आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा छनोट भएकालाई निर्वाचनसम्बन्धी अभिमुखीकरण तालिम प्रदान गर्ने छ । निर्वाचन अधिकृत भन्नाले निर्वाचनको कामका लागि आयोगले नियुक्ति गरेको मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत समेतलाई जनाउँछ ।
स्थानीय तह निर्वाचनका लागि न्याय परिषद्को परामर्शमा जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवाका कम्तीमा राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गर्ने व्यवस्था छ ।
स्थानीय तह निर्वाचनका हकमा न्यायाधीश र न्याय सेवाका राजपत्राङ्कित अधिकृतलाई मात्र नियुक्ति गर्न नसकिएमा निजामती सेवाभित्रका अन्य सेवाका अधिकृतलाई समेत निर्वाचन अधिकृतमा खटाउन सकिने छ । निर्वाचन सञ्चालन र व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी निर्वाचन अधिकृतको हुनेछ ।
निर्वाचन कार्यक्रमअनुरुप उम्मेदवारको मनोनयन दर्ता, मनोनयनउपर उजुरी लिने, उजुरीउपर छानबिन गर्ने, उम्मेदवारको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, निर्वाचन चिह्न दिने, आचारसंहिताको पालना गराउने, मतदानका लागि कर्मचारी खटाउने, मतदान र मतगणना गराउने, आफ्नो क्षेत्रको निर्वाचन विवाद निरुपण गर्ने तथा निर्वाचन परिणाम प्रकाशन गरी आयोगमा प्रतिवेदन बुझाउने निर्वाचन अधिकृतको मुख्य जिम्मेवारी हो ।