वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबिच कुटाकुटको चर्चा पछी फेरी अर्कोंको नयाँ विवाद सुरुमा आएको छ ।
गाउँपालिका अध्यक्ष प्रदीप कुमार जयसवाल र उपाधयक्ष फुलमति देवी थरुइन छुट्टाछुट्टै स्थानमा गाउँपालिका कार्यालयको प्रशासनिक भवनको शिलान्यास गरेपछि विवाद झनै उत्कर्षमा पुगेको हो ।
सखुवाप्रसौनी-२ औराहा पँचगावास्थित पूरानो आर्मी बेस क्याम्प भएको स्थानमा उपाध्यक्ष थरुइनले विभिन्न राजनीतिक दलका नेताहरुको उपस्थितिमा भवनको शिलान्यास गरेकी छिन् भने अध्यक्ष जयसवालले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको हातबाट आफैले गाउँपालिका कार्यालय निर्माणका लागि सखुवाप्रसौनी-२ कै पंचगावा बजारमा दिएको जग्गामा शिलान्यास गराएका छन् ।
गाउँपालिका अध्यक्ष जयसवालले जनतासँग छलफल नै नगरेर बाटो नभएको ठाउँमा भवन बनाउन लागेको विरोधस्वरुप गाउँपालिकास्थित विभिन्न राजनीतिक दलले उपाध्यक्षको नेतृत्वमा कार्यालयको भूमिपूजन गरेका हुन् ।
आफ्नै जग्गाको पुच्छरमा रहेको भागमा गाउँपालिका भवन बनाएपछि त्याहाँ बाटो बनाउनुपर्ने बाध्यता हुने र त्यसले गर्दा पछि आफ्नो जग्गा महँगो भाउमा बेच्ने मिले लोभले अध्यक्ष जयसवालले भवनको शिलान्यास गरेको नेकपा एमालेका युवा नेता यशवन्त यादवको आरोप छ ।
‘अध्यक्ष जयसवालले खरिद गरेको ३ बिगाह जग्गाबाट सबैभन्दा पछाडि गाउँपालिकाको भवन निर्माण गर्नका लागि जग्गा दान दिने ढोंग गरेका छन् । भवन बन्न लगाएको ठाउँसम्म जाने बाटोसमेत छैन । उनकै जग्गा हुँदै जानुपर्ने हुन्छ । कार्यालय बनेपछि त्यहाँ पुग्न बाटोको लागि उनले आफ्नै जग्गा बेचेर मोटो रकम कमाउने दाउ खेलिरहेका छन्,’ यादवले भने, ‘हामीले जग्गाको बारेमा सूचनाको हक प्रयोग गरेर जानकारी माग्दासमेत उपलब्ध गराईएन् । जग्गा दानमै ठूलो घोटालाको आशंका छ ।’
यता गाउँपालिका अध्यक्ष जयसवालले भने निर्वाचन नजिकिएसँगै विरोधीहरुले उचालेर छुट्टै स्थानमा शिलान्यास गर्न लगाएको बताएका छन् । उनले भने, ‘बजार क्षेत्रभन्दा धेरै टाढा पनि छैन । ५ सय मीटर मात्रै हो । गाउँपालिका कार्यालय मात्रै भयो भने अलिक शान्त पनि हुन्छ अन्य कामहरुका लागि पनि झन्झट हुँदैन ।’ विरोधीहरुले नानाथरी आरोप लगाएपनि आफ्नो कुनै स्वार्थ नरहेको र गाउँपालिका भवनका लागि आफुले स्वस्फुर्त रुपमा जग्गा दिएको जयसवालको भनाई छ ।