वीरगञ्ज । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा न २५ का २१ वर्षीय रामा उपेन्द्र साहको शव फेला परेको छ । वीरगञ्ज महानगरपालिका वडा न १६ ईनर्वा स्थित सिर्सिया नदीको किनारमा पुरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । साह ४ चैत अर्थात होलीको दिनदेखि हराएको भए पनि उनका बाबुले मंगलबार दिउँसो २ बजेतिर मात्रै जानकारी गराएको पर्सा प्रहरीको भनाइ छ । साथीहरुसँग होली खेल्न गएको छोरा नफर्किएको भन्दै उजुरी गरेपछि प्रहरीले खोजी सुरु गरेको थियो ।मंगलबार नै प्रहरीलाई माटो माथि हड्डी देखिएको खबर आएपछि प्रहरी टोली पुगेर उत्खनन गरेको थियो । कसैले हत्या गरेर शव गाडेको हुन सक्ने प्रहरीको आशंका छ ।‘सडे गलेको किरा परेको अवस्थामा शव भेटिएको छ, शव बोरामा हालेर पुरिएको छ’ । ‘४÷५ दिनअघि नै हत्या भएको आशंकामा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।