वीरगन्ज । नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा वीरगन्जमा आज प्रभातफेरी भएको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीको अगुवाईमा प्रभातफेरी भएको हो ।
घण्टाघर चौकबाट निस्केको प्रभातफेरी नगरको माईस्थान, आर्दशनगर, घडिअर्वा चौक परिक्रमा गरी पुन घण्टाघर चौकमा आएर कोण सभामा परिणत भएको थियो ।
कोण सभाका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दीपेन्द्र चौहानले पत्रकार महासंघका प्रथम केन्द्रिय अध्यक्ष किशुन भटटईको स्मरण गर्दै ६७ वर्ष अगाडि निरंकुशताविरुद्ध र स्वतन्त्रताको पक्षमा पत्रकार महासंघ स्थापना गरिएको बताए । महासंघ स्थापना भएको ६७ वर्ष बितिसक्दा पनि अझै पत्रकारहरु असुरक्षित अवस्थामा छन्' उनले भने ।
नेपाल पत्रकार महासंघका मधेश प्रदेश महासचिव श्याम बन्जाराले महासंघ सुदृढ र बलियो नभएसम्म सञ्चारकर्मीहरुको अवस्था सवल नहुने दाबी गरे ।
प्रभात फेरीमा महासंघ कोषाध्यक्ष संजीव मिश्रा , प्रेस चौतारी नेपाल पर्साका उपाध्यक्ष तुलसी भण्डारी , प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी, समाजवादी पत्रकार संगठन पर्साका अध्यक्ष मनोज पटेल, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, नेताहरु महेश चन्द्र गौतम, शंकर खतिवडा सहितका पत्रकारहरु सहभागी भएका थिए ।