वीरगञ्ज । मधेस प्रदेशको एक मात्र वीरगञ्ज महानगरपालिकाको मेयर चुनिएपछि विजय सराबगीले ५० वर्षमा नभएको विकास ५ वर्षमा गरेर देखाउने घोषणा गर्दै भनेका थिए l व्यापारिक पृष्ठभूमिका सरावगीले लोभ नगर्लान्, विकासले पनि गति लेला भन्ने जनअपेक्षा थियो । तर साढे चार वर्षमा जनअपेक्षाअनुसार त काम भएन नै, मेयर साराबगीले चुनावका बेला सार्वजनिक गरेको आफ्नै ‘कसम’ बिर्सिए । बेरोजगारी अन्त्य, बाटो, विद्यालय, बिजुली र बैंक गरी ‘५ को अवधारणा ल्याए । प्रत्येक वडामा बाल उद्यान, १६ वटा वडामा ५ वटा मदर कलेज स्थापना, महानगरपालिकामा अध्ययन केन्द्र, आधुनिक पुस्तकालय, ई-लाईब्रेरी लगायतका बाचा गरेका थिए । उनको कसममा समेटिएका यस्ता थुप्रै प्रतिवद्धता पूरा भएका छैनन् । नारायणी रंगशाला, नारायणी क्रिकेट मैदान, आदर्शनगर रंगशाला, स्पोर्ट भिलेज निर्माण गरेर वीरगञ्जलाई खेलकुद ‘हब’ बनाउने वाचा पनि पूरा भएन । जेष्ठ नागरिकलाई पूर्ण निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था, ८५ वर्ष भन्दा माथिकालाई घरमै ५ हजार रुपैयाँ वृद्ध भत्ता, प्रत्येक वडामा जेष्ठ नागरिक पार्क निर्माण गर्ने वाचा पनि अधुरै छ ।‘प्रदूषणमुक्त सिर्सिया’ अभियानमा लागेका अधिवक्ता सुरेन्द्र कुर्मी मेयरले चासो नै नदिएको बताउँछन् । ‘पटक–पटक गएर ध्यानाकर्षण गरायौं’, उनले भने, ‘एउटा पत्र लेखेर प्रशासनलाई काम गर भनेको समेत थाहा पाइएन ।’
मेयर सारवगी भने सिर्सिया करिडोरमा १२ सय करोडको परियोजनाको डीपीआरका लागि संघ सरकारसँग पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको बताउँछन् ।


मेयर सरावगी वीरगञ्ज महानगरका सबै ३२ वडालाई कतै पक्की त कतै ग्राभेल सडकले जोडेको मेयर दाबी गर्छन् । चार वर्षमा १४० किलोमिटर भन्दा बढी सडक र ५२ किलोमिटर भन्दा बढी नाला बनाएको उनी बताउँछन् ।