वीरगञ्ज, १८ चैत । पर्साको पर्सागढी नगरपालिकामा मेयरले नगरपालिकामा निर्वाचित भएदेखि व्यापक भ्रष्टाचार गरेको स्थानीयले आरोप लगाएका छन् । नेपाली काङ्ग्रेसबाट मेयरमा निर्वाचित भएका लोकनारायण यादवले नगरपालिकामा कुनै ठोस विकासका काम नगरेको जनता समाजवादी पार्टी (जसपा)का मेयरका प्रत्यासी बृजमोहन चौधरीले बताए ।
भ्रष्टाचार र कमिशनको खेलमा चुर्लुम्म डुबेर राहतको नाममा कुहिएको चामलसमेत बाँडेर ब्रम्हलुट मच्चाएका मेयर यादवलाई आसन्न स्थानीय तहको निर्वाचनमा तह लगाउने स्थानीय दिपेन्द्र बहादुर सुवेदीको चेतावनी छ ।
असारे बिकासको नाममा बजेट सकेको, काल्पनीक शीर्षक राखेर करोडौको रकम मेयर यादवले कुम्ल्याएर वीरगञ्ज महानगरमा अथाह सम्पती आर्जन गरेको स्थानीय बताउँछन् ।
निर्वाचनमा घरदैलो चाहर्ने मेयरले जितेपछि एकपटक पनि फर्केर जनताको घरदैलोमा नगएको र जिल्लाका काङ्ग्रेसी माथि तहका नेताहरुको चाकडीमा करोडौ रुपैयाँ बाँडेर पुनः मेयरको टिकट पाउने आशमा यादव रहेका छन् । यद्यपी उनले टिकट पाएपनि यसपाली जित्ने सम्भावना भने नरहेको स्थानीय बताउँछन् ।
स्थानीय रुपेश दास भन्छन्, ‘युवाको क्षेत्रमा, दलित समुदायको क्षेत्रमा कृषि एवम् शिक्षा, स्वास्थ्य लगायतका विषयमा कुनै पनि सुधार भएको छैन । निर्वाचित भएर केही गर्न नसक्नेलाई फेरी भोट किन दिने ?’
नगरपालिकाले गरेका कामको बारेमा पटक पटक सूचना माग गर्दा समेत उपलब्ध नगराउनुले भ्रष्टाचार भएको स्पष्ट हुने स्थानीय युवा पदम अधिकारीको भनाई छ । नगरवासीले विश्वास गरेर मत दिएपनि मतको दुरुपयोग गर्दै नगरवासीको लागि र नगरको लागि कुनै काम नगरेको उनका निकटम प्रतिद्वन्दी गोकर्ण पाठकको भनाई छ ।