वीरगञ्ज १८ चैत । नेपाली कांग्रेस पर्साले वीरगञ्ज महानगरपालिकामा कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने बताएको छ ।
कांग्रेस पर्साका नवनिर्वाचित सभापति जनार्दन सिंह क्षेत्रीले महानगरमा कुनै पनि दलसँग गठबन्धन गरेर निर्वाचन लड्ने पक्षमा आफूहरु नरहेको बताए । यद्दपी, जिल्लाका अन्य स्थानीय तहमा आवश्यकता अनुसार गठबन्धन गरिने क्षेत्रीले स्पष्ट पारेका छन् ।
वीरगञ्ज महानगरमा कांग्रेस सबैभन्दा बलियो रहेको भन्दै कांग्रेस पर्साले आगामी स्थानीय तहको निर्वाचनमा अरु दलसँग चुनावी तालमेल आवश्यकता नरहेको सिंहले बताए । “वीरगञ्जमा हामी एक्लै निर्वाचन लड्न सक्षम छौँ । अन्य दलसँग गठबन्धन गर्ने आवश्यकता छैन । अन्य पालिकामा सहमतिमा जान सक्छौँ, तर महानगरमा गठबन्धन हुने कुनै चान्स छैन,” क्षेत्रीले यात्राडेलीलाई टेलिफोन संवादमा भने ।
वीरगञ्ज महानगरको नगर प्रमुखका लागि कांग्रेसबाट अहिले चर्चामा रहेका आकांक्षीहरुमध्ये एकजनाले टिकट पाउने क्षेत्रीले बताए ।
चैतको ३० गतेसम्म वीरगञ्ज महानगरको मेयरदेखि वडा अध्यक्षसम्मको उम्मेदवारको टुङगो लगाउन पर्साका काँग्रेसी नेताहरु बीच छल चलिरहेको क्षेत्रीले जानकारी दिए । जिल्लाका नेताहरुबाट उम्मेदवारको टुङगो नलागेको खण्डमा केन्द्रीय कार्यसमितिमा आकांक्षीहरुको नाम सिफारिस गरिने र केन्द्रबाट नै उम्मेदवारहरु टुङगो लाग्ने उनले बताए ।
यसअघि बुधबार नेपाली कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेले पनि पत्रकार सम्मेलन गरेर वीरगञ्जमा कांग्रेसले चुनावी तालमेल नगरिने बताएका थिए । उनले कांग्रेस केन्द्रीय समितिले नै स्थानीय आवश्यकता हेरेर अरु दलसँग चुनावी तालमेल गर्ने निर्णय गरेकाले वीरगञ्ज महानगरमा चुनावी तालमेलको आवश्यकता नरहेको बताएका थिए ।
कांग्रेसबाट वीरगञ्ज महानगरको मेयरका लागि पूर्व जिल्ला सभापति अजय द्विवेदी, संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्य, पूर्व जिल्ला उसभापतिद्वय नरेन्द्र शाह र प्रकाश उपाध्याय, क्षेत्रीय प्रतिनिधि विजय सर्राफ, शिक्षाविद् प्रा. डा. दीपक शाक्य, वरिष्ठ नेता श्याम पोखरेल, युवा नेता कञ्चन झाको नाम अगाडी आएको छ ।