बीरगञ्ज । सशस्त्र प्रहरीले बीरगञ्जबाट कपडा र मालसामान रहेको दुई वटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ ।
प्रज्ञापन पत्र बेगर बीरगञ्जबाट काठमाण्ढौ जाँदै गरेका दुई वटा ट्रक सशस्त्र प्रहरीले मंगलबार राति नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका ट्रकमा ना ७ ख ९४२ र ना २ ख ९५४३ रहेका छन् । सशस्त्र प्रहरी बल १३ नम्बर मुख्यालय पर्साबाट खटिएको टोलीले राति साढे ८ बजे ट्रक नियन्त्रणमा लिएको हो ।
ना ७ ख ९४२ नम्बरको ट्रकमा ५१ लाख ९२ हजार रुपैयाँ बराबरको कपडा र मालसामान रहेको सशस्त्र प्रहरी बल पर्साको प्रहरी उपरीक्षक (एसपी) तेजप्रसाद पोखरेल जनाएका छन् ।
यस्तै, ना २ ख ९५४३ नम्बरको ट्रकमा ९४ लाख ५३ हजार रुपैयाँ बराबरको मेडिकल सामग्री, औषधी र खुद्रा सामानहरू थिए ।
सशस्त्र प्रहरीले दुबै ट्रकलाई आवश्यक कारबाहीका लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।