

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० रानीघाटस्थित कुमारी माई मन्दिरमा स्थापित मुर्तीको प्राणप्रतिष्ठा पुजा गरिएको छ ।
मन्दिरमा स्थापित गर्न लागिएको देवी दुर्गाको मुर्तिलाई सजाइएको डोलीमा राखी मन्दिर परिसरबाट शोभा यात्रा समेत निकालिएको छ ।
शोभा यात्रा मन्दिर परिसरबाट घडिहर्वा हुँदा माइस्थान भएर घण्टाघरबाट पुनः रानिघाटस्थित मन्दिर परिसरमा पुगेर टुंगिएको थियो ।
शोभा यात्रापश्चात मुर्तीको प्राणप्रतिष्ठा, मुर्ति स्थापना कुमारी पुजन एवम् सप्ताह भागवत गरिएको छ । चैते दशैंको अवसर पारेर मन्दिरमा मुर्ति सथापना गरी प्राणप्रतिष्ठान गरिएको कुमारी माई मन्दिर सञ्चालक समितिले जानकारी दिएको छ ।
पूजामा पण्डित सुरेन्द्र तिवारी, नारायण तिवारी, सन्तोष झा, रामनारायण महतो धानुक लगायतको सहभागीता रहेको थियो । साथै सोही अवसरमा मन्दिर सञ्चालक समितिले आयोजना गरेको बृहत सप्ताह भागवत कथाको आजै पूर्णाहुती गरिएको छ । भारतको काशीबाट आउनु भएका मधुकरजी महाराज द्वारा कथा वाचन गर्नुका साथै आकर्षक झाँकीहरू समेत प्रस्तुत गरिएको थियो ।
भागवत कथा तथा मुर्ति स्थापनाका लागि भारतका बिभिन्न ठाँउका पण्डितहरुको सहभागीता रहेको थियो ।