समाजवादी विद्यार्थी युनियन द्वारा क्याम्पस प्रमुखलाई फर्जी रसीद विरुद्ध ज्ञापन पत्र बुझाइएको छ।
फर्जी रसिद प्रकरणमा संलग्न व्यक्तिहरुलाई कारवाहीको माग गर्दै वीरगंजको ठाकुर राम बहुमुखी क्याम्पसमा समाजवादी विद्यार्थी युनियनका नेताहरुले धरणा दिनुको साथै क्याम्पस प्रमुखलाई ज्ञापन पत्र समेत बुझाएका छन्।
जाली रसिद बनाई ८० जना विद्यार्थीहरुको थेसिस बुझिएको घटना बाहिर आएको हप्ता दिन बित्न लाग्दा समेत ध्यान नदिएकोले क्याम्पस प्रशासन संग ५ बुंदे कारवाहीको माग राख्दै विद्यार्थी नेताहरुले विभिन्न नारा सहित धरणा दिएका कुरा युनियन का नेता पवन यादवले बताउनु भएको छ। विभिन्न विद्यार्थी हरुको उपस्थिति मा आज अपराह्न १२ बजेदेखि क्याम्पस परिसर भित्र धरणा दिइएको कुरा विद्यार्थी नेता यादव द्वारा जानकारी गराइएको छ। स्नातक तह चौथो वर्षका ८० जना विद्यार्थीहरु संग फर्जी रसिद बनाई थेसिस बुझ्ने बहानामा लाखौ रकम उठाइएको विद्यार्थी युनियनको दावी रहेको छ।
युनियनले जाली रसिद काट्ने देखि छाप्नेसम्म लाई कारवाहीको दायरामा ल्याउने माग समेत गरेको छ। जाली रसिद काटेर रकम उठाउने काम क्याम्पस कै विद्यार्थी नेता ध्रमेन्द्र मिश्राले गरेको खुल्न आए पनि यसलाई आधिकारिक पुष्टि गर्न युनियनले माग गरेको छ। क्याम्पसका कर्मचारी र रसिद छाप्ने छापाखानालाई समेत कारवाहीको दायरामा ल्याउनु पर्ने समाजवादी विद्यार्थी युनियनको माग रहेको छ।
१५ सयको दरले रसिद काटेको युनियनका नेता पवन यादवले बताउनु भयो। उहाँले,”एकजना संग १५ सयको दरले रसिद काटिएको छ र अहिले ८० जनाको रसिद मात्रै फेला परेको छ,अझै कुन संकायको कति रसिद कटेको छ थाहा नै छैन”भन्नु भयो।
ठाकुरराम बहुमुखी क्याम्पसका प्रमुख डा. उमेशप्रसाद चौरसियाले क्याम्पसको रसिद छपाएर भर्ना भएको कुरा जानकारीमा आएको स्वीकार गर्नु भएको छ। चौरसियाले क्याम्पस प्रमुखको संयोजकत्वमा लेखा प्रमुख गुन्जन सिंह र परीक्षा शाखा प्रमुख मोहन यादव सदस्य रहने गरी तीन सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिनु भयो। क्याम्पसको रसिद कसले र किन दुरुपयोग गर्याे भन्ने विषयमा समितिले छानबिन गरेपछि सत्यतथ्य जानकारी गराइने उहाँले बताउनु भयो।
विद्यार्थी नेतामा पवन यादव ,मो. सगीर अली,संजय यादव,आबिद हुसैन,दिलखुस देवान, हरिकिशोर यादव,ओमप्रकास शर्मा,कृष्णा यादव , विशाल साह लगायतको उपस्थितिमा आजको धारणा प्रदर्शन र ज्ञापन पत्र क्यम्पस प्रमुखलाई बुझाईएको छ।