बारा । स्थानिय तहको निर्वाचन नजिंकिदै गर्दा दल बदल्ने र प्रवेश गर्नेहरुको संख्यामा हातै बढोतरी भएको छ । मधेस प्रदेशको बारा जिल्लामा त पार्टी परित्याग र प्रवेश गर्नेको लहर नै चलेको छ ।
आज बिहीवार पनि दल बदल्ने क्रम जारी छ । यसै क्रममा जनता समाजवादी पार्टी जसपा बाराको महागढीमाई नगरपालिका वडा नं १० को वडाध्यक्षमा जितेका चन्दन जैसवाल सहित करिब ५० जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।
जैसवालसंगै जसपाबाट बारा निर्वाचन क्षेत्र नं २ को क बाट निर्वाचित प्रदेशसभा सदस्य शारदाशंकर प्रसाद साहका छोरा राजाबाबु साह समेत एमालेमा प्रवेश गरेका छन् ।
यसअघी जसपाबाटै महागढीमाई नगरपालिकाको मेयर पदमा दावी गरिरहेका साहलाई पार्टीले उम्मेदवार बनाउने अवस्था नदेखिएपछी मेयरको उम्मेदवार बन्नकै लागी उनी एमालेमा प्रवेश गरेको बुझिएको छ।
महागढीमाई नगरपालिकाको गञ्जभवानिपुरमा आयोजित एक कार्यक्रमकाबिच उनी एमालेमा प्रवेश गरेका हुन् ।
साहलाई पार्टी प्रवेश गराउन एमाले नेताहरु अच्युत मैनाली, बलबिर चौधरी, शशिकान्त मिश्रा लगातका पुगेका थिए ।
यसअघी २०७४ सालको स्थानिय निकाय निर्वाचनमा सोही पालिकाको मेयर लडेका प्रदेशसभा सांसद शारदाशंकर साह काँग्रेसका उम्मेदवारसंग पराजित भएका थिए ।
मेयर पदमा पराजित भएपनी जसपाले उनलाई प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको थिए । ठुलै आर्थिक चलखेलमा हारेका व्यक्तिलाई पुनः उम्मेदवार बनाईएको र त्यसमा जसपाकै जिल्ला तथा केन्द्रिय नेतृत्वहरुको संलग्नता रहेको जसपाकै स्थानिय नेताहरुको आरोप छ ।