छिपरहमाई । पर्साको छिपरहमाई गाउँपालिका वडा नम्बर ५ भिस्वामा दुई समूहबिच झडप भएको छ । भिस्वा निवासी स्थानीय धूब साह र भिम साह पक्षबिच झडप भएको हो ।
भिम साहको समूहले अरुसँग झै झगडा गरेको देखेपछि ध्रुब साहको समूह झैझगडा नगर्न र विवाद सुल्झाउन गएको प्रत्यक्षदर्शीहरुले बताएका छन । सो बेला भएको सामान्य झडप समाधान भएपनि पछि योजनाबद्ध ढंगले भिम साहको समूहले ध्रुब साहको समूहलाई आक्रमण गरेको गाऊँलेहरुले जानकारी दिए ।
४/५ जनाको समूहमा आएका व्यक्तिहरुले ध्रुब साह, उनका छोरा बलीराम साह र नाती प्रिन्स कुमार साहमाथि कुटपिट गर्दा तिनै जना घाइते भएका छन् । घाइते तिनैजनालाई भिस्वास्थित छिपहरमाई पोलिक्लिनीकमा प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा ल्याइएको थियो ।
नारायणी अस्पतालमा पनि आईसियु खाली नभएपछि अन्यत्र रिफर गरिएको छ । घाइतेमध्ये एकजनाको टाउकोमा ६ वटा टाँका लागेको छ भने अन्यको हात, खुट्टा तथा टाउकोमा चोट लागेको छ ।
भिम साहको समूहका पनि सामान्य घाइते भएका छन् । भिम साह र ध्रुब साह दाज्यु भाई हुन् । विगतमा जग्गा सम्बन्धी पुरानो रिसीबी साँध्न योजनाबद्ध ढंगले आक्रमण गरेको ध्रुब साह पक्षले आरोप लगाएको छ भने भिम साह समूहले उक्त आरोपको खण्डन गरेको छ ।