वीरगञ्ज । वीरगञ्ज उधोग वाणिज्य संघका अध्यक्ष डा. सुबोध कुमार गुप्ताले वीरगन्ज महानगरले बढ़ाएको करले जनताको ढाड सेकिएको बताए । जनतासँग भए गरेका केही सम्पत्ति पनि कर तिरेरै सिद्दिने हो कि भन्ने अवस्था आएको उनको भनाई छ ।
स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार राजेशमान सिंहसँग संघले आफ्नै सभाहलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै गुप्ताले यस्तो बताएका हुन् । महानगरले सम्पत्ति कर ४ सय प्रतिशत बढाएकोले त्यसलाई न्युनिकरण गर्नुपर्ने उनको भनाई थियो।
प्रदेश र केन्द्र सरकारले वीरगन्जमा देखिने खालको कुनै काम गर्न नसकेकोले महानगरसँग सहकार्य गरेर संघले सिग्नेचर प्रोजेक्ट गर्न चाहेको गुप्ताले बताए ।
कार्यक्रममा संघका पूर्व अध्यक्षहरू अशोक टेमानी, गणेश लाठ, प्रदीप केडिया तथा पदाधिकारी माधव राजपाल, अनिल पटवारीलगायतले उधोगी व्यवसायीको लागि मेयरमा निर्वाचीत भएपछि गर्नुपर्ने कामको सुझाव तथा जिज्ञासा राखेका थिए ।
स्थानीय सरकारको ५ वर्षे कार्यकाल सुखद नभएको सर्वसुलभ सेवा र सुशासन महशुस गर्न नसकिएकाले तपाईं कसरी अगाडि बढ्नुहुन्छ भनेर सिंहलाई प्रश्न गरीएको थियो ।
जवाफमा सिंहले आफू भ्रष्टाचारमा शुन्य सहनशीलता अपनाएर अगाडि बढ्ने बताए । उनले आफू सबै विषयको विज्ञ हुन नसक्ने हुँदा हरेक क्षेत्रका विज्ञलाई साथमा लिएर विकासको एक मात्र लक्ष्य राखेर अगाडि बढ्ने बताए । तपाईंहरुको समस्याको समाधान तपाईंहरूलाई नै थाहा छ त्यसको जिम्मा म तपाईंहरूलाई नै दिन्छु । यसो गर्दा समस्याको सहि हल निस्कन्छ । म सबैलाई समेटेर अगाडि बढ्छु सिंहले भन्नुभयो । संघले मेयरका उम्मेदवारहरू सबैसँग यस किसिमको अन्तरक्रिया गर्ने जनाएको छ ।