वीरगञ्ज । भारतीय अभिनेता सोनु सुद परोपकारी कार्यले चर्चित छन् । उनको यस्तो कल्याणकारी कार्य भारतमा मात्र सीमित छैन, उनले नेपालमा समेत सहयोगी हात बढाएका छन् ।
सन् २०२१ मार्चमा उनले मेरुदण्डको पक्षघातबाट पीडित नेपाली किशोर मधु पौडेलको शल्यक्रिया खर्च व्योहोरेका थिए । अभिनेता सुदले अर्की एक नेपाली किशोरीको पढाइ खर्चको जिम्मा लिएका छन् ।
पर्साको वीरगञ्जस्थित साउथ जोन माद्यामिक विद्यालयकी छात्रा तृप्ति मुस्कान कर्णको जिवन भरको पढाईको जिम्मा सोनु सुदले लिएका छन् । कर्णको पढाइ खर्च व्योहोर्ने जानकारी सुदले ट्वीटरमार्फत दिएका छन् । ‘नेपालमा सबैलाई भनिदिनू, अब पूरा जिन्दगीको लागि तपाईंको पढाइको व्यवस्था भएको छ,’ सुदले ट्वीटरमा लेखेका छन् ।
अब सोनु फाउण्डेसनले ती नेपाली बालिकाको पढाइ खर्च व्योहोर्ने भएको छ । ट्वीटरमा विद्यापति शंकर नामक एक प्रयोगकर्ताले बालिका मुस्कानलाई सहयोग गर्न सोनुलाई आग्रह गरेका थिए । उनको जवाफमा सुदले सहयोगको वचन दिएका हुन् ।कोरोना महामारीपछि सोनु सुदले कल्याणकारी कार्यमा समेत सक्रियता बढाएका छन् ।
साउथ जोन माद्यामिक विद्यालयबाट यस वर्षको एसइई परिक्षा भर्खरै दिएकी मुस्कानको आगामी पढाई आर्थिक अभावले राकिने पो हो कि भन्ने चिन्ता उनको परिवारलाई थियो । सोनु सुदको पढाई खर्चको जिम्मा लिने वचनले अहिले मुस्कानको परिवारलाई राहत मिलेको छ ।
मुस्कानका बुबाले कोरोनाको पहिलो कहरमा कोरोनासँगको लडाईमा हार खाएर संसार त्यागेका हुन् । कक्षा ९ मा हुँदा बुबा गुमाएकी मुस्कानले विद्यालयको सहयोगले जसोतसो गरेर एसइई परिक्षा दिएकी हुन् । पढाईमा मध्यम मुस्कान अतिरिक्त क्रियाकलापमा भने अब्बल छिन् ।