वीरगञ्ज । पर्साको छिपहरमाइ गाँउपालिकाको अध्यक्षमा मनोज गुप्ता दोहोरिएका छन् ।
अघिल्लो निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका गुप्ता यस पटक नेकपा एमालेबाट लडेर दोस्रो कार्यकालको लागि दोहोरिएका हुन् ।
पर्साको १४ वटा स्थानीय तहमध्ये वीरगञ्ज बाहेक अन्य सम्पूर्ण पालिकाको अन्तिम मतपरिणाम आउँदा प्रमुखमा दोहोरिने गुप्ता एक मात्र भ्याग्मानी जनप्रतिनिधि बनेका छन् ।
शुक्रबार बिहान सम्पन्न भएको छिपहरमाईको मगणनाको अन्तिम परिणाम अनुसार गुप्ता निकटतम प्रतिद्धन्द्धी जसपाका उम्मेदवार इन्द्रासन कलवारलाइ ३ सय २० मत अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन् । कलवार गत निर्वाचनमा पनि गुप्तासँग पराजित भएका थिए ।
गुप्ताले ४ हजार १ सय ८८ मत पाउँदा कलवारले भने ३ हजार ८ सय ६८ मत पाएका छन् । अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार नवीन सिंह भने ३ हजार ५ सय २८ मत पाएर तेश्रो भएका छन् ।
गुप्ता एमालेका पर्सा जिल्ला सचिव पनि हुन् ।
गाँउपालिकाको उपाध्यक्ष भने नेपाली काँग्रेसले जितेको छ । उपाध्यक्षमा काँग्रेसकी उम्मेदवार लीलावती देवी कानु निर्वाचित भएकी छन् ।
लीलावती देवी ३ हजार ८ सय १ मतका साथ निर्वाचित भएकी हुन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार मोदीना खातुनले भने ३ हजार ५ सय ९० मत पाएकी छन् ।