पोखरिया नगरपालिकाका नवनिर्वाचित प्रमुख प्रद्युम्न चौहान र उपप्रमुख रूबी ठाकुरले सोमवार शपथग्रहण तथा पदभार ग्रहण गरेका छन् ।
पोखरिया नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख चौहानले नवनिर्वाचित उपप्रमुख, वडाध्यक्ष एवं वडासदस्यहरूलाई शपथग्रहण गराएका थिए ।
कार्यक्रममा नगरप्रमुख चौहानले मालपोत, नापी तथा जिल्ला प्रशासन कार्यालयसँग सम्बन्धित कामको लागि दैनिकरूपमा वीरगंज जानुपर्ने बाध्यताको अन्त्य गर्न ती कार्यालयका शाखा कार्यालय पोखरियामा स्थापना गर्न प्रक्रिया अगाडि बढाउने बताए ।
उनले पोखरिया बजार र यस क्षेत्रका पुराना बजारलाई व्यवस्थित गरी सर्वसाधारण, व्यापारीहरूलाई सुविधा प्रदान गर्ने बताए । पोखरिया नपाका सम्पूर्ण वडाको चित्र स्पष्ट देखिने गरी होर्डिङबोर्ड लगाउने र सदरमुकामबाट सबै वडामा जोडिने लिङ्करोड यथाशीघ्र मरम्मत गरी सञ्चालनमा ल्याउने बताए ।
पोखरिया नपालाई साक्षर घोषणा गर्ने प्रक्रिया अगाडि बढाउने बताए । प्रमुख प्रशासकीय अधिकृत अशोक रौनियार, शिक्षा शाखा प्रमुख विजय झा, लेखापाल मनोज तिवारीलगायत सहभागी रहेको कार्यक्रमको सञ्चालन नरेन्द्र साहले गरेका थिए ।