काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रलाई जनअनुभूतिबाट प्रमाणित गर्न चाहेको बताउनुभएकाे छ ।
१५औं गणतन्त्र दिवसकाे अवसरमा आइतबार शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पूरा गरेर लोकतान्त्रिक गणतन्त्रलाई जनअनुभूतिबाट प्रमाणित गर्न चाहेको उल्लेख गर्नुभएकाे छ ।
उहाँले लेख्नुभएकाे छ -'नेकपा एमाले देशभक्तिपूर्ण,लाेकतान्त्रिक,परिवर्तनकारी,विकासमुखी र समृद्ध नेपाल,सुखी नेपालीकाे राष्ट्रिय आंकाक्षा बाेकेकाे पार्टी हाे, हामी राष्ट्रकाे याे आकांक्षालाई पूरा गरेर लोकतान्त्रिक गणतन्त्रलाई जनअनुभूतिबाट प्रमाणित गर्न चाहान्छाैं '
जनविरोधी शक्तिहरुका अनुचित दुष्प्रयासहरुले अवरोध पुर्याएर थाती रहन पुगेका राष्ट्रिय समृद्धिका पाइलाहरुलाई उचाईमा पुऱ्याउने एमालेको अभियानमा सम्पूर्णको साथ रहने अपेक्षा आफूले राखेकाे उहाँले उल्लेख गर्नुभएकाे छ ।
गत आम निर्वाचनबाट बनेकाे एमाले नेतृत्वकाे सरकारले नयाँ संविधानले परिकल्पना गरेकाे संघीय लाेकतान्त्रिक शासन प्रणालीलाई सुदृढ गर्दै मुलुकलाई विकास र समृद्धिकाे बहसतर्फ अग्रसर गराएकाे उहाँले उल्लेख गर्नुभएकाे छ । आपसमा निराशा बाँडेर बस्ने सामाजिक प्रवृत्तिलाई सुशासन र समृद्धितर्फकाे बहसमा केन्द्रित गर्न आफूहरु सफल रहेकाे पनि अध्यक्ष ओलीले उल्लेख गर्नुभएकाे छ ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष ओलीले एमालेकाे एेतिहासिक प्रयासले राष्ट्रिय हितकाे सम्बर्द्धन, राष्ट्रिय स्वाभिमानकाे रक्षा र प्रवर्द्धन भएकाे सन्देशमा उल्लेख गर्नुभएकाे छ । राजनीतिक प्रणालीभन्दा बाहिर रहेका शक्तिहरुमा संविधानप्रतिकाे स्वीकार्यता बढाउन सफल भएकाे,नवनिर्माणकाे नयाँ युगकाे थालनी गरिएकाे उहाँले स्मरण गर्नुभएकाे छ ।
जनादेशद्धारा स्थापित आफू नेतृत्वकाे सरकारले गरेका युगान्तकारी कामले गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्दै सिंगाे राष्ट्रलाई समृद्ध नेपाल सुखी नेपाली गन्तव्यतर्फ अगाडि बढाइरहेकै बेला सरकारमाथि प्रहार भएकाे उहाँले उल्लेख गर्नुभएकाे छ ।
काम गरिरहेकाे एमाले सरकारलाई संविधानकाे अपव्याख्या गरेर हटाउने काम भएकाे पनि अध्यक्ष ओलीले स्मरण गर्नुभएकाे छ । उहाँले लेख्नुभएकाे छ -'जनताको बलिदानीपूर्ण संघर्षले स्थापित भएको लोकतान्त्रिक गणतन्त्रमाथि आज संविधानले परिभाषित गरेका राज्यका अंगहरूलाई दुरुपयोग गरी संविधान र प्रणालीको अतिरिक्त व्याख्या-अपव्याख्याद्वारा प्रहार गर्ने काम भइरहेको छ,यसले मुलुककाे दूरगामी यात्रालाई अल्मल्याउँदै संविधान र संवैधानिक संस्थाहरुप्रतिकाे जनताकाे आस्थामाथि समेत चाेट पुर्याएकाे छ ।'
एमालेकाे सरकार ढालिएपछि मुलुकमा विकास निर्माणका काममा अल्पविराम लागेकाे र विकासकाे राष्ट्रिय बहसकाे ठाउँ शत्ताशक्तिकाे अनुचित भागबण्डा लेनदेन र राज्य शक्तिकाे दाेहनले लिएकाे ओलीकाे सन्देशमा उल्लेख छ ।
.jpg)
