काठमाडौं । आज दिउँसो ४ बजे आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक हुँदैछ । संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्यायको वार्षिक अनुमान सार्वजनिक गर्दै हुनुहुन्छ ।
संविधानको धारा ११९ बमोजिम जेठ १५ गते बजेट भाषण हुन लागेको हो । सरकारले जेठ १० गते संघीय संसद्को संयुक्त बैठकमा पेश गरेको नीति तथा कार्यक्रम शनिबार प्रतिनिधि सभाबाट बहुमतले पारित भइसकेको छ ।
बजेट प्रस्तुतिका लागि सम्पूर्ण सांसदहरूलाई दिउँसो ३ बजेर ४५ मिनेटभित्र संसद् भवनमा प्रवेश गर्न सभामुख सापकोटाले रुलिङ गर्नुभएको छ ।
सभामुख सापकोटाले भन्नुभयो- ‘माननीय अर्थमन्त्रीबाट नेपालको संविधानको धारा ११९ बमोजिम आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान मिति २०७९ जेठ १५ गते आइतबार दिनको ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेस गर्ने कार्यक्रम भएकाले उक्त बैठकका लागि प्रतिनिधिसभाका सम्पूर्ण माननीय सदस्यहरू उक्त दिन दिनको ३ः४५ बजे अगाडि नै प्रतिनिधिसभाको बैठक कक्षमा उपस्थित हुनु भई आफ्नो आसन गरिसक्न हुन अनुरोध गर्दछु । प्रतिनिधिसभाको अर्को बैठक ०७९ साल जेष्ठ १५ गते आइतबार अपराह्न ६ बजे बस्ने गरी यो बैठक स्थगित हुन्छ ।’
यस अघि अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण २०७८/०७९ सार्वजनिक संस्थानको वार्षिक स्थिति, समीक्षा २०७९ र मन्त्रालयगत प्रगति विवरण आर्थिक वर्ष २०७७/०७८ को यथार्थ र आर्थिक वर्ष २०७८/०७९ को चैतसम्मको विवरण पेस प्रतिनिधिसभा बैठकमा पेस गरिसक्नुभएको छ ।
बजेट भाषण सकिए लगत्तै प्रतिनिधिसभाको अर्को बैठक आइतबार साँझ ६ बजे बस्नेछ ।