पोखराबाट मुस्ताङ जिल्लाको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको बिमान दुर्घटनामा धनुषाको एकै परिवारका सात जना परेपछि गाउँ शोकमा डुबेको छ ।
बिमान दुर्घटनामा १३ जना नेपाली मध्ये सात जना धनुषाको मिथिला नगरपालिका–११ लोटाका हुन् । उहाँको मृत्यु भए नभएको बारे कुनै पृष्टि भएको छै । बिमान दुर्घटनामा अन्दाजी ४२ वर्षिय राजनकुमार गोलेसहित उहाँको आफन्तहरु परेका छन् । राजनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ्ग, काका पुरुषोत्तम गोले, काकी तुल्सादेवी तामाङ्ग, मामा मकरबहादुर तामाङ्ग र माइजू सुकुमाया तामाङ्ग गरी सात जना एक परिवारका सदस्यहरु बिमान दुर्घटनामा परेका छन् ।
उहाँहरु मुक्तिनाथ दर्शन गर्न जोमसोम जान लाग्नु भएको थियो ।
एकै परिवार तथा एउटै टोलमा बस्ने सात जना बिमान दुर्घटनामा परेपछि गाउँवासीमा रुवावासी चलेको छ । दुर्घटनामा परेका आफन्तलाई सान्त्वना दिन गाउँलेहरु घरमा भेला भएका छन् । सान्त्वना दिन मधेस प्रदेश सरकारका उधोग, पर्यटन तथा वनमन्त्री सत्रुधन महतो आफन्तको घर पुग्ने भएको थियो ।