वीरगञ्ज । नक्कली नोटको कारोबार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय पर्साले २ जनालाई पक्राउ गरेको छ । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ मा लागेको दुर्गा भगवती मेलामा नक्कली नेपाली रुपैयाँ १ हजार दरका नोटहरु साट्दै गरेको सूचनाको आधारमा परिचालित प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले खोजतलाश गर्ने क्रममा मेलाबाटै नेपाली नक्कली नोट १ हजार दरका २० थानसहित २ जनालाई पक्राउ गरेको हो ।
बहुदरमाई नगरपालिका वडा नम्बर ८ निवासी १९ वर्षीय राजाबाबु साह तेली र पटेर्वासुगौली गाउँपालिका घर भई हाल बहुदरमाई ८ बस्दै आएका २० वर्षीय अजय सहनीलाई प्रहरीले पक्राउ गरेका हो ।
१ हजार दरको नक्कली २० हजार रुपैयाँसहित पक्राउ परेका दुवैजना विरुद्ध मुद्रा सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।